काठमाडौं । सेयरबजारमा राजनीतिक सहमतिले हरियाली ल्याएको छ । शनिबार प्रधानमन्त्री सुशीला कार्की र विघटित संसद्का मुख्य तीन दलका शीर्ष नेताहरुबीच भएको चुनावमा जाने सहमति र जेनजी आन्दोलनपछि राजनीतिक सतहमा उदाएका बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भएको सहमतिले सेयर लगानीकर्ता उत्साही भएका हुन् ।
योसँगै आइतबार नेप्से ४७ दशमलव ५५ अंकले उकालो लागेर २६ सय ३३ दशमलव ४२ विन्दुमा चढेको हो । यसअघि निरन्तर नेप्से ‘पेन्डुलम’को अवस्थामा थियो । तर आइतबार नेप्सेले ‘न धेरै बढ्ने, न थोरै बढ्ने’ प्रवृत्ति तोडेको देखिएको छ । सो प्रवृत्तिमा कारोबारमा समेत उल्लेख्य बढावट देखिएको थिएन । आइतबार सूचकको उछालसँगै कारोबार रकमले समेत सुधारको संकेत गरेको छ ।
यस दिन तीन सय २८ वटा सेयर ८९ हजार दुई सय ५१ पटक कारोबार हुँदा एक करोड ३४ लाख ६८ हजार एक सय ४५ कित्ता बिक्री भएको छ । यसअघि एक दिनमा हुने बिक्री कित्ता संख्याले समेत लाख छुन गाह्रो हुँदै आएको थियो । तर आइतबार त्यसले करोड नाघेको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ । योसँगै साताको पहिलो कारोबार दिन कुल किनबेच रकमले पाँच अर्ब ५३ करोड १३ लाख रुपैयाँ नाघेको छ ।
यस दिन १३ वटै उपसमूह बढेका छन् । यसमा वाणिज्य बैंक २२ दशमलव ५३, विकास बैंक एक सय २१ दशमलव ५५, फाइनान्स ६१ दशमलव १७, जलविद्युत् ६५ दशमलव शून्य तीन, जीवन बीमा दुई सय ४७ दशमलव १६, निर्जीवन बीमा एक सय ८३ दशमलव ८५ अंकले बढेका छन् । त्यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको सूचक पनि क्रमशः ९४ दशमलव ३२, दुई, एक सय ५५ दशमलव ३२, ६७ दशमलव ३२, शून्य दशमलव १९, ५९ दशमलव २४ र २७ दशमलव ५७ विन्दुले उकालो लागेका छन् ।
यस दिन मिड सोलु हाइड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । युनियन हाइड्रोपावर लिमिटेडको भने यस दिन सबैभन्दा बढी रकम कारोबार भएको छ ।