क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भए पछि १५ वर्षको जेल सजाय सुनाइएको छ । क्वालालम्पुर उच्च अदालतले शुक्रबार फैसला सुनाएको अल जजिराले जनाएको छ ।
नाजिबलाई राज्य लगानी कोष १– मलेसिया डेभलपमेन्ट बरहाद (१–एमडिबी) बाट अवैध रूपमा २.२ अर्ब मलेसियन रिङ्गिट (करिब ५४ करोड ३० लाख अमेरिकी डलर) आफ्नो व्यक्तिगत बैंक खातामा हस्तान्तरण गरेको अभियोगमा दोषी ठहर गरिएको जनाइएको छ । अदालतले उनलाई शक्तिको दुरुपयोग गरेको चारवटा आरोप र सम्पत्ति शुद्धीकरणको २१ वटा अभियोगमा दोषी ठहर गरेको छ ।
फैसला सुनाउँदै न्यायाधीश कोलिन लरेन्स सेक्वेराहले यो मुद्दा राजनीतिक रूपमा सञ्चालित भएको भन्दै नाजिबको बचाउलाई अस्वीकार गरेका छन् । उनले आफूमाथि लगाइएका आरोपहरूमा राजनीतिक रूपले प्रेरित भन्ने तर्कलाई निर्विवाद खारेज गरेका छन् ।
नाजिबले प्रधानमन्त्री, अर्थमन्त्री र १–एमडीबीको सल्लाहकार बोर्डको अध्यक्षको रूपमा आफ्नो भूमिकाको दुरुपयोग गरी एक दशक भन्दा पहिले सार्वजनिक कोषलाई व्यक्तिगत लाभका लागि प्रयोग गरेको अल जजिराले जनाएको छ । १–एमडिबी काण्डसँग सम्बन्धित नाजिबको यो दोस्रो सजाय हो । यस अघि सन् २०२० मा कोषबाट करिब एक करोड अमेरिकी डलरको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरी १२ वर्षको जेल सजाय सुनाइएको थियो भने पछि सजाय घटाएर छ वर्षमा झारेको थियो । गत वर्ष नाजिबले १–एमडिबी विवादमा आफ्नो भूमिकाका लागि मलेसियालीहरूसँग माफी मागेको समेत जनाइएको छ ।