दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिकाभित्रका सुत्केरी महिला आमाहरुलाई विद्युतीय इन्डक्सन चुलो वितरण कार्य सुरु गरेको छ ।
चालु वर्षको वार्षिक कार्यक्रमअनुसार पालिकाभित्रका सुत्केरी अवस्थामा रहेका आमाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले निःशुल्क इन्डक्सन चुलो वितरण गर्न सुरु गरेको हो । आइतबार वडा नम्बर–१ का २९ जना सुत्केरी महिलाहरुलाई चुलो वितरण गरिएको थियो । त्यसैगरी वडा नम्बर–२ का २१ जना र वडा नम्बर–३ का ५१ जना आमाहरुलाई पनि आइतबार नै चुल्हो वितरण गरिएको हो । गाउँपालिकाकि उपाध्यक्ष कल्पना उप्रेतीको उपस्थितिमा चुलो वितरण गरिएको थियो । कुल दुई सय ५० जना सुत्केरी महिलाहरुलाई चुलो वितरण गर्ने गाउँपालिकाले जनाएको छ । पालिकाको महिला लक्षित प्रोत्साहन कार्यक्रमअन्तर्गत चालु वर्ष र अघिल्लो आर्थिक वर्षको विनियोजित कार्यक्रमअन्तर्गतको कार्यक्रमले वडागत रूपमा चुलो वितरण गरिने उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।
सुत्केरी गृहेणी महिलाहरुको कार्य बोझ घटाउने, वन तथा वातावरण संरक्षणमा सहयोग पु¥याउने तथा उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले इन्डक्सन चुलो वितरण गरिएको हो । चुलो वितरण कार्यक्रममा वैतेश्वर–२ का वडा अध्यक्ष श्यामकुमार घिसिङ, वडा नम्बर–३ का वडा अध्यक्ष कमल अधिकारी, पालिकाका वरिस्ठ शाखा अधिकृत रबिन्द्र चौलागाई, इन्जिनियर रोशनकुमार गिरी, स्वास्थ्य शाखा प्रमुख बम बहादुर तामाङ लगायतको उपस्थिति थियो । गाउँपालिकाले सबै वडाका सुत्केरी आमाहरुलाई चुलो वितरण गर्ने योजना बनाएको छ ।