काठमाडौं । ब्रह्म टेबल टेनिस प्रतियोगिता २०८२ को उपाधि सार्थक मानन्धरले जितेका छन् । ब्रह्म स्पोर्टस् क्लबको आयोजना तथा काठमाडौँ महानगरपालिका १२ वडाको सहयोगमा भएको प्रतियोगितामा मानन्धरले उपाधि जितेका हुन् ।
खेल पुरुष एकल र भेटरान समूहमा भएको थियो । पुरुष एकल खेलमा मानन्धरले प्रथम भए भने अमिताभ शाक्य दोस्रो भए । रुपेश शाक्य र निरेश डंगोल संयुक्त रुपमा तेस्रो भए । यसै गरी भेटरानतर्फ अमिताभ शाक्य प्रथम भए भने विश्ववन्धु कर्माचार्य दोस्रो र तेस्रो संयुक्त रुपमा समयसत्व शाक्य र सचित प्रधान भए । प्रतियोगितामा इमर्जिङ प्लेयरको रुपमा अजित महर्जनलाई प्रमाण पत्र प्रदान गरिएको थियो । विजयी खेलाडीहरुलाई वडा नम्बर १२ का वडाध्यक्ष बालकृष्ण महर्जनले नगद पुरस्कारसहित मेडल तथा सिल्ड प्रदान गरेका थिए । नगद पुरस्कारमा पुरुष एकलमा प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई जनही पाँच हजारको दरले नगद पुरस्कार प्रदान गरिएको थियो । भेटरानतर्फ प्रथमलाई दश हजार, द्धितीयलाई पाँच हजार र तृतीय दुई जनालाई जनही तीन हजारको दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
ब्रह्म स्पोर्टस् क्लबका अध्यक्ष सन्देश मानन्धरको सभापतित्वमा भएको प्रतियोगितामा क्लबका पूर्व कार्यसमिति सदस्य दय जिम्न्यास्टिकतर्फ पूर्णमान वज्राचार्य र भलिबलतर्फ प्रज्ज्वल बहादुर सिंहलाई सम्मान गरिएको थियो । यस्तै कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई ३० हजार नगदसहित सम्मान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषदका टेबल टेनिसका मुख्य प्रशिक्षक मोहन दास बासुकलाले प्रतियोगिता सञ्चालन गरेका थिए । प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका ११, १२, १३, १४, २०, २१ र २३ वडाका स्थानीय खेलाडीहरुको सहभागिता रहेको थियो ।