काठमाडौं । श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा तथा रजत वर्ष जयन्ती शनिबार ललितपुरको शंखमूल स्थित यल दरबार भेन्यूमा भव्य रूपमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रत्नलाल महर्जनको सभापतित्व तथा संस्थाकी जेष्ठ सदस्य नानीमाया महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा कुल सेयर सदस्यहरूमध्ये ८२ प्रतिशत (एक हजार छ सय ५० जना) को उल्लेखनीय उपस्थिति रहेको थियो ।
सभामा अध्यक्ष महर्जनले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि व्यापक छलफल पश्चात् साधारणसभाले सर्वसम्मतिले अनुमोदन गरेको छ । रजत जयन्तीको विशेष अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्व. केदारलाल प्रधानलाई मरणोपरान्त ‘श्रीगणेश विशेष सम्मान’ प्रदान गरिएको छ । संस्थाको २५ वर्षे यात्राको आधारशिला खडा गर्न महत्वपूर्ण योगदान पुर्याउनुभएका स्व. प्रधानको सम्मान निवर्तमान तथा वर्तमान अध्यक्ष रत्नलाल महर्जनद्वारा उनका सुपुत्र सुधिरलाल प्रधानलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।
सोही अवसरमा प्रमुख अतिथि नानीमाया महर्जनद्वारा ‘श्रीगणेश रजत जयन्ती स्मारिका २०८२’ को विमोचन गरिएको छ । सचिव अनिलमान महर्जनले संस्थाको विस्तृत सदस्य तथ्याङ्क प्रतिवेदन अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।
साधारणसभाबाट रिक्त रहेको कोषाध्यक्ष पदमा विकास महर्जन निर्विरोध निर्वाचित भएका छन् । रजत वर्षको अवसर पारेर संस्थाले समाज र संस्थाको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा समूहलाई सम्मानसमेत गरेको छ। यसअन्तर्गत १६ जना संस्थापक सदस्यलाई ‘संस्थापक सम्मान’ प्रदान गरिएको छ। साथै, संस्थाबाट श्रीगणेश जेष्ठ सदस्य सम्मान गरिँदै आएको छ । वर्षेनी संस्थाका जंकु (भिमर थारोहण) गरिसक्नुभएका वा ७८ वर्ष पुग्नुभएका जेष्ठ सदस्यहरूलाई जनही ३,००० रुपैयाँ नगदसहित सम्मान गरिँदै आएको छ । गत २५औं साधारणसभामा २२ जना जेष्ठ सदस्यहरू सम्मानित गरिएको छ । त्यसैगरी, कक्षा १२ उत्तीर्ण गरेका ५ जना उत्कृष्ट विद्यार्थीलाई शैक्षिक प्रोत्साहन सम्मान प्रदान गरिएको छ । संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार तथा विभिन्न उप–समितिका सदस्यलाई सम्मान गरिएको छ भने १५ जना कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको छ ।
साधारणसभा तथा रजत जयन्ती सफलतापूर्वक सम्पन्न भएको भन्दै सहभागी सदस्यहरूले संस्थाको आगामी दिनमा अझ सुदृढ र उत्तरदायी सहकारीका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।