काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को पाँचौँ संशोधन गरेको छ । विदेशी विनिमय कारोबार गर्न अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरू र अन्य निकायहरूका लागि यो संशोधन गरिएको हो ।
योसँगै विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृति तथा लेखांकन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋणबापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखांकन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने, विदेशमा लगानीको नियमनलगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गरी विदेशी लगानी आकर्षित गर्न एवं आर्थिक क्रियाकलापहरू सहजरूपमा सञ्चालन हुने राष्ट्र बैंकको अपेक्षा छ ।
संशोधित विनियमावलीअनुसार अमेरिकी डलर १० लाख वा सोबराबरको विदेशी मुद्राभन्दा कम रकमको ऋणको हकमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य नहुने भएको छ । विदेशी ऋणदाताले पेस गर्ने वित्तीय विवरण लेखापरीक्षण गर्न नपर्ने व्यहोराको प्रमाणसहित सञ्चालक समिति/उच्च व्यवस्थापनले तयार गरेको वित्तीय विवरण संलग्न भई आएमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य नहुने संशोधित विनियमावलीमा उल्लेख छ । विदेशी ऋणदाता प्राकृतिक व्यक्ति भएको अवस्थामा निज र/वा निजको परिवारकोे सदस्यको स्वामित्वमा रहेको खुद सम्पत्ति वा बैंक मौज्दातलगायतको तरल सम्पत्ति तथा उपयोग गर्न बाँकी रहेको स्वीकृत कर्जा सीमालाई पनि ऋणको स्रोतको रूपमा उल्लेख गरिएको छ ।
संसोधित विनियमावलीअनुसार विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपश्चात् सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य नहुने भएको छ । तर, विदेशी लगानी स्वीकृत भएपश्चात् विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व, अनुसूची–२ को ढाँचामा एकाइमा लिखित जानकारी दिनुपर्नेछ । यसैगरी नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम बैंक तथा वित्तीय संस्थाले अनुसूची–३ बमोजिमका कागजातहरूको यकिन गरी सम्बन्धित कम्पनी, उद्योग वा सम्बन्धित विदेशी लगानीकर्ताको खातामा जम्मा गर्नेछ ।
विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही स्वीकृति अन्र्तगत भने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २० तथा दफा २६ का व्यवस्थाहरूबमोजिम सर्तहरूको अधीनमा रहेर विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान इजाजतपत्रप्राप्त वाणिज्य बैंकहरूले मुद्रा सटहीको सुविधा दिन सक्नेछन् । यसअन्तर्गत विदेशी लगानीको सेयर बिक्रीबाट प्राप्त रकम, विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांशबापतको रकम, उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गएकोमा खारेजी वा लिक्विडेसनपश्चात् सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम, प्रविधि हस्तान्तरण सम्झौताअन्तर्गत प्राप्त लाभ (रोयल्टी) बापतको रकम रहेका छन् । तर, शतप्रतिशत मदिरा निकासी गर्ने मदिराजन्य उद्योगबाहेक अन्य मदिराजन्य उद्योगमा हुने प्रविधि हस्तान्तरणअन्तर्गतको ट्रेडमार्क उपभोग हुनेबापतको रोयल्टी वा शुल्कको हकमा त्यस्तो लाभबापतको रकम विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ बमोजिम हुने संशोधित विनियमावलीमा उल्लेख छ ।