काठमाडौं । अध्यागमन विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ । नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले विभागले पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गर्ने भएको हो ।
उक्त सूचना प्रणालीलाई सुरुमा काठमाडौं उपत्यकाभित्र लागू गरिने जनाइएको छ । अध्यागमनले सोमबार एक कार्यक्रमको आयोजना गरी प्रणालीलाई व्यवस्थित लागू गर्नको लागी सम्बन्धित सङ्घसंस्था र निकायहरूबीच सुझाव लिएको थियो । अध्यागमनका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले विशेष कार्यक्रम आयोजना गरी प्रणाली उद्धाटन गरिने बताए । उनका अनुसार प्रणालीलाई पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा अनिवार्य रूपमा लागू गरिनेछ । दोस्रो चरणमा आगामी फागुन १७ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरूमा र क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने कार्ययोजना छ ।
यस सूचना प्रणाली कार्यान्वयनको प्रभावकारिताका लागि विदेशी नागरिकहरूलाई सेवा प्रदान गर्ने सबै निकायहरू प्रणालीमा दर्ता हुनुपर्छ । यो प्रणाली कार्यान्वयनका लागि छोटो अवधि मात्र बाँकी रहेको र हालसम्म प्रणालीमा आबद्ध भएका निकायहरूको सङ्ख्या न्यून रहेकाले यथाशीघ्र आबद्धताका लागि अनुरोध गरिएको पनि प्रवक्ता ढकालले जानकारी दिए ।