काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरुका लागि लक्षित गरेर संचालनमा ल्याएको एनटी फाइबर विद्यार्थी अफर प्रभावकारी भएको बताएको छ । आगामी माघ २२ गते सम्म आवेदन मिति रहेको उक्त अफर हाल धेरै विद्यार्थीहरुका लागि उपयोगी बनेको कम्पनीको दाबी छ ।
टेलिकमले हाल फाइबर टु द होम अर्थात एनटी फाइबर इन्टरनेट अन्तर्गत विद्यार्थीहरुका लागि मात्र लक्षित गरी उपलब्ध गराइएको अफर नै एनटी फाइबर विद्यार्थी अफर हो । एनटी फाइबर अन्तर्गत भ्वाइस, डाटा, एनटीटीभी र मोबाइल डाटा उपलब्ध भइरहेकोमा विद्यार्थीका लागि डाटा मात्र उपलब्ध हुने गरी सो अफर उपलब्ध गराइएको छ । सो अफर अन्तर्गत ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्ष सम्म उपलब्ध छ र यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र छ । यसबाट प्रतिदिन २५ जीबी डाटा चलाउन सकिन्छ भने त्यो भन्दा बढी डाटा खर्च भयो भने यसको स्पिड ५ एमबीपीएस हुनेछ । यसका लागि जडान शुल्क ५ सय रुपैयाँ लाग्छ भने विद्यार्थीले १ थान ड्युअल ब्यान्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् ।
अफर लिनका लागि विद्यार्थीले आगामी माघ २२ गते भित्रै १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन् । वि.सं. २०५४ साल वा पछि जन्म मिति रहेका विद्यार्थीहरुका लागि मात्र यो अफर लागु हुनेछ । त्यसैले स्पष्ट जन्म मिति खुल्ने प्रमाणको रुपमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ । त्यसैगरी आवेदन फारमका साथ विद्यार्थीको परिचय पत्र पनि अनिवार्य पेश गर्नु पर्नेछ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा लाइसेन्स वा पासपोर्टको प्रतिलिपि पेश गर्नुपर्नेछ । यो अफरको समयावधि सकिए पछि पुनः यही प्याकेजमा नवीकरण गर्न मिल्दैन ।