काठमाडौं । साना तथा मझौला उद्योग (एसएमई)को संरक्षणका लागि नीतिगत सुधार र सहज लगानीको वातावरण बनाउन सरोकारवालाहरूले जोड दिएका छन् ।
विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार ‘साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण’ शीर्षकमा आयोजित प्यानल छलफलमा सहभागीहरूले सहज लगानी, नीतिगत सुधार, प्रविधिको प्रयोग र बजार पहुँच विस्तारमा जोड दिएका थिए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरेले साना तथा मझौला उद्योग नै रोजगारी सिर्जनाको मुख्य आधार भएको उल्लेख गर्दै यसको संरक्षण विना आर्थिक समृद्धि सम्भव नभएको बताए । जेन–जी आन्दोलनपछि शिथिल बनेको अर्थतन्त्रलाई सकारात्मक सन्देश दिन विराट ट्रेड एक्स्पो प्रभावकारी हुने उनको भनाइ थियो । ‘बैंकमा तरलता छ तर ऋण प्रवाह सहज छैन, कर र श्रम नीतिले उद्यमीलाई थप दबाब दिएको छ, उत्पादनमुखी अर्थतन्त्र निर्माणमा राज्य गम्भीर हुनुपर्छ’, उनले भने ।
घिमिरेले ऊर्जा, श्रम, व्यापार र बजारसम्बन्धी स्थायी नीतिको अभावले साना तथा मझौला उद्योग समस्यामा परेको उल्लेख गर्दै ट्रिपिङ र लो–भोल्टेजका कारण उत्पादन लागत बढेको बताए । आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनले नेपालमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई नीतिगत संरक्षण दिनुपर्नेमा जोड दिए । कृषिमा आधारित उद्योग, ऊर्जा क्षेत्र, धार्मिक पर्यटन, शिक्षा र स्वास्थ्य सेवामा कोशी प्रदेशमा प्रशस्त सम्भावना रहेको उनले औंल्याए ।
उदय परियोजनाका ‘रिस्क सेयरिङ लिड’ उत्सव घिमिरेले साना तथा मझौला उद्योगको इकोसिस्टम सुदृढ गर्न समावेशी राजनीतिक र आर्थिक संस्थाको आवश्यकता औंल्याए । ‘बैंक ऋण बाहेक वैकल्पिक वित्तीय साधन नहुँदा उद्यमशीलता बढ्न सकेको छैन,’ उनले भने । अवधारणामा आधारित उद्यमलाई धरौटीविना समेत सहजीकरण गर्नुपर्ने र स्टार्टअपको लाइफ साइकलअनुसार सहयोग आवश्यक रहेको उनको सुझाव थियो । प्रविधि, एआई र ग्लोबल बजार पहुँचमा जोड दिँदै उनले सिड मनी र अनुदान प्रणाली अझ व्यवस्थित गरिनुपर्ने बताए । सरकारले दिने अनुदान चाहिने व्यक्तिले नै प्राप्त गर्न नसकेको हो कि भन्ने प्रश्न उठेको बताउँदै उनले सरकारी तवरबाट हुने अनुदान अझ व्यवस्थित हुनुपर्नेमा जोड दिए ।
युवा उद्यमी प्रतीक राउतले देशका करिब ९० प्रतिशत उद्योग साना तथा मझौला रहेको उल्लेख गर्दै २०२६ पछि विकासोन्मुख राष्ट्रमा प्रवेश गर्दा ग्लोबल प्रतिस्पर्धाका लागि ब्रान्डिङ, इमेज बिल्डिङ र सूचना प्रविधिमा लगानी अपरिहार्य हुने बताए । ‘फिक्स क्यापिटलको आधारमा मात्र एसएमईको परिभाषा बनाउनु उपयुक्त छैन,’ उनले भने । उनले सूचना प्रविधिमा थप काम गर्न सकिने सुझाव दिँदै भारत र चीनलाई हेरेरभन्दा पनि साना तथा मझौला उद्यमको क्षेत्रमा काम गनुपर्नेमा जोड दिए । निर्यात गर्दा भ्यालु एड गरे विश्व बजारमा कसरी बिक्री र प्रतिस्पर्धा गर्ने भन्नेमा ध्यान दिइनु पर्ने उनको भनाइ थियो । ‘साना तथा मझौला उद्यमलाई फोकस गरेर नीतिहरू बनाइनु पर्छ । फिक्स क्यापिटलको आधारमा मात्र परिभाषा बनाइएको छ त्यो परिवर्तन गर्न आवश्यक छ’, उनले भने ।
उद्यमी अमित शारडाले पछिल्ला २० वर्षमा धेरै परिवर्तन भएपनि अपेक्षित गतिका लागि सरकारी सक्रियता आवश्यक रहेको बताए । गुणस्तरीय उत्पादनले निर्यात बढ्ने र नयाँ आइडिया सफल हुन समय लाग्ने उनको भनाइ थियो । विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जाराले पछिल्लो समय सरकार लचिलो र सहजीकरणको भूमिकामा देखिएको बताए । डिजिटल माध्यमबाट बजार पहुँच सहज भएको छ । उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारले अवसरका ढोका खोल्दै गएका छन् ।’
घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डेले उद्योग दर्ता, नवीकरण, तालिम, प्रविधि हस्तान्तरण र ब्रान्डिङमा प्रदेश सरकारको नीतिअनुसार काम भइरहेको जानकारी दिए । महिला उद्यमीलाई दर्तामा राजस्व छुट दिइने र बजार मागअनुसार नयाँपनसहित उद्यम सुरु गरे सफल हुने उनको भनाइ थियो । शिखर इन्स्योरेन्सका महाप्रबन्धक प्रज्वल आचार्यले बीमा आवश्यकताबारे प्रस्तुति दिएका थिए भने इक्विटी विकासकर्ताहरूको पहलसम्बन्धी छलफल पनि गरिएको थियो ।