काठमाडौं, भदौ २२
ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।
उनीमाथि यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको र सोही क्रममा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएको आरोप छ । उक्त घटनापछि फरार हुँदै आएका उनलाई आफन्तकामा लुकिछिपी बसेको अवस्थामा आइतबार साँझ नक्खुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।
उनीसँगै उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरिएको थापाले जानकारी दिए । अझै दुई जना फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ । निषेधाज्ञाको उल्लङ्घन गरी रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा त्यहाँ झडप भएको थियो । सोही क्रममा उनीहरूले प्रहरीमाथि नै आक्रमण गरेका थिए । उनीहरूलाई अभद्र व्यवहार र सङ्क्रामक रोग ऐन २०२० अन्तरगतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।