जुम्ला । टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने उद्देश्यका साथ ग्रामीण क्षेत्रमा नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ ।
नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको जानकारी दिए ।
जुम्लामा ४५, कालीकोटमा २२ र मुगुमा १९ वटा टावर विस्तार गरिएका छन् । कार्यालय प्रमुख पुजाराले भने, “जुम्लाको हिमा गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण भइ सुचारु भएको छ । लामो समयदेखि टेलिफोन टावर निर्माण नुहँदा यहाँका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएका थिए ।”
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सोमबारदेखि टावर निर्माण सम्पन्न भई टेलिफोन र फोरजी इन्टरनेट सेवा सञ्चालन भएको बताए । टेलिकमको फाइबर इन्टरनेट सेवा हाल सदरमुकाम खलङ्गामा मात्र विस्तार गरिएको छ । टेलिकम शाखा कार्यालयले जिल्लाका आठवटै स्थानीय तहसम्म विस्तार गर्न काम भइरहेको जनाएको छ ।
नेपाल टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार हालसम्म कर्णालीका ३७ स्थानीय तहमा सञ्चार सेवा विस्तार गरिएको जनाएको छ ।