जेरुसेलम । इजरायलले दक्षिणी क्षेत्रमा रहेको आशालिम ऊर्जा स्टेसनमा ब्याट्रीसहितको नयाँ सौर्य ऊर्जा केन्द्र निर्माण गर्ने भएको छ । सिन्ह्वाका अनुसार यो केन्द्र राष्ट्रिय विद्युत् क्षेत्रमा करिब ८० मेगावाट विद्युत् आपूर्ति गर्न सक्षम हुनेछ भने जडित सौर्य प्यानलको क्षमता १५० मेगावाट रहेको छ ।
साथै, केन्द्रमा करिब ४०० मेगावाट–घण्टा विद्युत् सञ्चयन गर्न सक्ने ब्याट्री प्रणाली स्थापना गरिनेछ, जसले दिनको समयमा उत्पादित विद्युत् राति वा विद्युत् माग उच्च हुने समयमा प्रयोग गर्न सजिलो बनाउनेछ । सरकारले सन् २०३० सम्म देशको ३० प्रतिशत विद्युत् आवश्यकताका लागि नवीकरणीय ऊर्जा स्रोत प्रयोग गर्ने लक्ष्य राखेको छ । यस परियोजनाले प्रदूषण कम गर्ने र स्वच्छ ऊर्जा प्रवर्द्धन गर्नेमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
परियोजना पूरा भएपछि आशालिम क्षेत्रमा कार्यान्वयन हुने नवीकरणीय ऊर्जा परियोजनाले इजरायलको विद्युत् क्षेत्रमा ८०० मेगावाटभन्दा बढी विद्युत् आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।