काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले भृकुटीमण्डपका संरचनाले नतिरेको रकम उठाउने पहल सुरु गरेको छ । मन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा संघ÷संस्थालाई तत्कालै पत्र काट्ने बताएकी हुन् ।
भृकुटीमण्डपको बुधबार अवलोकन गरेपछि उनले भनिन्, ‘कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आज (बुधबार) आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र काट्दै छौँ ।’ मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयानुकूल भाडादर तय गरिने स्पष्ट पारिन् । उनले भनिन्, ‘सरकारी दरअनुसार सस्तो भाउमा नदिइकन, केही नाफा हुनेगरी भाडामा लगाउने हाम्रो सोच छ ।’
बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उनको भनाइ छ । व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिनेछ । भृकुटीभण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाजकल्याण परिषद्मा पनि छलफल भएको जानकारी दिँदै मन्त्री श्रेष्ठले आज विस्तृतमा अवलोकन गरिएको बताइन् ।