पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिक प्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ मनाइदै छ । ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति हुन । ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पुँजीका रुपमा विकास गरिनुपर्दछ । विकास निर्माणमा, आइपर्ने जोखिम र अवरोधहरुलाई ज्येष्ठ नागरिकले विगतमा भोगेका र समाधानमा अपनाएका ज्ञान, सीप र दक्षताको अनुभवको प्रयोगबाट सहजरुपमा समाधान खोज्न टेवा पुग्छ । जसबाट समय र लगानीको वचत गर्न सकिन्छ । सरकारी गैरसरकारी क्षेत्रमा बसेर कामगरेका निवृत्त कर्मचारीको विज्ञताको यथाशक्य प्रयोग समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य प्राप्तिमा होस्टेमा हैंसे हुन सक्छ । कतिपय अवस्थामा निवृत्तहरुको योग्यता, दक्षता र अनुभव हासिल गर्न राज्यको लगानीसमेत रहेको हुन्छ । स्वतन्त्ररुपमा समाजमा आफ्नो संस्कार, संस्कृति र सीप जगेर्ना गर्दै जीविका चलाइरहेका ज्येष्ठ नागरिकको दक्षताको उपयोग परम्परागत कला संस्कृतिको संरक्षण र पुस्तान्तरणका साथै पर्यटन प्रबर्द्धनमा समेत सदुपयोग गर्न सकिन्छ ।
उनिहरुले आफ्नो ऊर्जाशील समयमा समाज र देशलाई पुर्याएको योगदानको सचित कदर गर्नु हामी सबैको कर्तव्य हो । आफ्नो जीवनकालमा समाज र देशमा घटेका घट्ना भोगेका र साक्षत्कार गरी अनुभव सँगालेका जिउँदो इतिहास हुन ज्येष्ठ नागरिक । उनिहरुको अनुभव र विज्ञतालाई देश विकासमा सदुपयोग गर्न पाउनु राज्यको लागि अवसर हो । देश विकासको महायज्ञमा सबै उमेरका जनताको सक्रिय सहभागिता अपरिहार्य रहन्छ । तुलनात्मक रुपमा युवा वर्गको योगदान उल्लेख्य रहने भए पनि ज्येष्ठ नागरिकको भूमिकालाई पनि नजरअन्दाज गरिनु हुन्न । ज्येष्ठ नागरिकहरु देशको । समृद्धिको यात्रामा निःशुल्क योगदान गरी मातृभूमिको सेवा गर्न लालायित छन् । मेरो समाज मेरो योगदान जस्ता अभियान सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सामाजिक रुपान्तरणमा उत्साहप्रद सहभागिता गराउन सरकार र सरोकार पक्षले ध्यान दिनु जरुरी छ ।
वृद्धवृद्धाले आफ्नो लामो जीवनभरी सङ्गालेका ज्ञान सीप पछिल्लो पुस्ताका लागि अर्ती उपदेश अमूल्य मार्गदर्शनको रुपमा सदुपयोग गरिनु बुद्धिमानी ठहर्छ । भनाइ नै रहेका छन् ‘कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको’ अनि ‘पितृ देवो भव’ ‘मातृ देवो भव’ जस्ता परम्परागत आदर्श वाक्य आत्मसात गर्नाले सुसंस्कृत् र सभ्य बन्न मार्ग दर्शन प्रदान गर्छ । संयुक्त परिवारबाट एकल परिवारमा बस्ने चलन बढ्दै गएको परिवेशमा आर्थिक, सामाजिक, र मानसिकरुपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउदै गएको महसशुस हुँदै छ । ‘बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधै माथी’ को भनाइ चरितार्थ हुदै गएको छ । ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा भोगेका असिमित अनुभवहरुको सदुपयोग देश विकासमा लगाउने योजना तथा नीतिहरु राज्यले बनाउन चुक्नु हुन्न ।
संयुक्त राष्ट्रसंघले सन १९९१मा वृद्धवृद्धाहरुका स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादालाई प्राथमिकता दिएर प्रस्ताव नै पास गरेको थियो । नेपालको संविधानको धारा ४१मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको मौलिक हकको सुनिश्चित गरेको छ । आवधिक योजनाले ज्येष्ठ नागरिकहरुको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरको ज्ञान, सीप सीप र अनुभवलाई राष्ट्रले समृद्धिको लागि उपयोग गर्ने लक्ष्य लिएको छ । ज्येष्ठ नागरिकको उल्लिखित अनुभवलाई स्थानीय सरकारसँगको सहकार्यमा ज्ञानकेन्द्र, ध्यानकेन्द्र र आरामकेन्द्र स्थापना र पुस्तान्तरण गर्दै जाने अवधारणा ल्याएको थियो । त्यस्तै अल्जाइमरलगायत उमेरगत रोगहरुको निःशुल्क उपचार तथा असहाय ज्येष्ठ नागरिकका लागि समरक्षणको व्यवस्थासमेत गर्ने उल्लेख छ । ज्येष्ठ नागरिकको लागि मासिक चार हजार भत्ता, निःशुल्क स्वास्थ्य बीमा, यातायात तथा औषधोपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचय पत्र, सेवाप्रवाहमा विशेष प्राथमिकता दिइने नीति लिइएको पाइन्छ । सरकार र सरोकार संघसंस्थाको पहलमा ज्येष्ठ नागरिक कोष स्थापना भए पनि कार्यान्वयनमा प्रभावकारिता ल्याउन थप पहल गर्नुपर्ने खाँचो खट्किएको छ ।
विगत पछिल्ला सात राष्ट्रिय जनगणनाको विश्लेषण गर्दा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दो क्रममा नै छ ।
स्वास्थ्य र जनचेतनामा सकारात्मक परिवर्तनका कारण नेपालीको सरदर बाँच्ने आयु दर वृद्धि हुँदै गएको छ । विश्वमा हाल ६० वर्ष माथिको जनसङ्ख्या ९० करोड छ । अहिले नेपालीको सरदर बाँच्ने आयु दर ७२ वर्ष पुगेको छ । जसको फलस्वरुप ६० वर्षे ज्येष्ठ नागरिकको सङ्ख्या बढ्नु स्वभाविकै हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको औसत जनसङ्ख्या वृद्धि दर ०.९२ प्रतिशत छ । ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धि सरदर चार प्रतिशत रहेको देखिन्छ । नेपालको जनसङ्ख्याको १०.२ प्रतिशत ज्येष्ठ नागरिक छन् । यसमा पनि पुरुषको भन्दा महिलाको सङ्ख्या उच्च रहेको छ । विगत पछिल्ला सात जनगणनाको विश्लेषण गर्दा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्ने निश्चित नै छ ।
ज्येष्ठ नागरिकको सङ्ख्यात्मक वृद्धिअनुसार उनिहरुको गास, वास र कपासको उचित प्रवन्ध गर्ने दायित्व सन्तति र सरकारको हो । साधरणतया वृद्ध अवस्थामा देखिएका र भोगिने समस्याहरुमा खानपान र औषधी उपचारको उपयुक्त व्यवस्था, बसोबासको उचित प्रवन्ध, मर्यादा, आत्मसन्तुष्टि, मनोरञ्जनात्मक वातावरणको सहजता, सिर्जनात्मक अनुभवको उपयोग, आर्थिक तथा सामाजिक सुरक्षाको सुनिश्चितता, आरोग्य वा वृद्ध आश्रमको उचित व्यवस्थापन आदीमा विशेष ध्यान दिनुपर्ने हुन्छ । ज्येष्ठ नागरिकको दिनचर्यालाई सक्रिय, स्वस्थ र आत्मनिर्भर बनाउन उनिहरुको शारीरिक र मानसिक तन्द्रुस्ति अनुकूल बालबच्चा हेर्ने, खाना बनाउने, कृषिकर्ममा लगाउने, व्यापार व्यवसायमा सक्रिय बनाउन सकिन्छ । त्यस्तै विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका चिकित्सक, व्यवस्थापक, प्राविधिक लगायतका विज्ञहरुको अनुभवलाई समाज सेवा र देश निर्माणमा सदुपयोग गर्न सकिन्छ ।
ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पँुजीका रुपमा विकास गरिनु पर्दछ । ज्येष्ठ नागरिक बोझ होइनन्, हाम्रो बुद्धिका स्रोत हुन् । विकास निर्माणमा, आइपर्ने जोखिम र अवरोधहरुलाई ज्येष्ठ नागरिकले विगतमा प्रत्यक्ष भोगेका र समाधानमा अपनाएका ज्ञान, सीप र दक्षता आदअनुभवको प्रयोगबाट सहजरुपमा समाधान खोज्न टेवा पुग्छ । यस्ता प्रयोग र अभ्यासले समय र लगानीको बचत गर्न सकिन्छ । सरकारी गैरसरकारी क्षेत्रमा बसेर काम गरेका निबृत कर्मचारीको विज्ञताको यथाशक्य प्रयोग समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य प्राप्तिमा होस्टमा हैंसे हुन सक्छ । कतिपय अवस्थामा निवृत्तहरुको योग्यता, दक्षता र अनुभव हासिल गर्न राज्यको लगानीसमेत रहेको हुन्छ । स्वतन्त्ररुपमा समाजमा आफ्नो संस्कार संस्कृति र सीप जगेर्ना गर्दै जीविका चलाइरहेका ज्येष्ठ नागरिकको दक्षताको उपयोग परम्परागत कला संस्कृतिको संरक्षण र पुस्तान्तरणका साथै पर्यटन प्रबर्धनमा समेत सदुपयोग गर्न सकिन्छ । देश विकासको महायज्ञमा सबै उमेरका जनताको सक्रिय सहभागिता अपरिहार्य रहन्छ । तुलनात्मक रुपमा युवा वर्गको योगदान उल्लेख्य रहने भए पनि ज्येष्ठ नागरिकको भूमिकालाई पनि नजरअन्दाज गरिनु हुन्न । ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा भोगेका असिमित अनुभवहरुको सदुपयोग देश विकासमा लगाउने योजना तथा नीतिहरु राज्यले बनाउन चुक्नु हुन्न ।
ज्येष्ठ नागरिकको उमेरगत शारीरिक तथा मानसिक शिथिलता र कम्जोरीका कारण रोग प्रतिरोधात्मक क्षमता स्वभावैले कमी हुन्छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएको कारण विभिन्न रोगको औषधोपचार गरिराखेका वृद्धवृद्धाको जीवन सुरक्षाका लागि सरकार र सरोकार पक्षले विशेष ध्यान दिनुपर्ने हुन्छ । वृद्ध अवस्थामा विभिन्न किसिमका शारीरिक, मानसिक, आर्थिक, सामाजिक खालका समस्याहरु रहन्छन नै । रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वस्थकर आहार विहारका साथै हौसला र उत्साहले पनि अहम् भूमिका खेल्ने तथ्य रोग जितेर सामान्य जीवनमा फर्केका व्यक्तिको अनुभव छ । मानव जीवनको उत्तरार्धमा पुगेका ज्येष्ठ नागरिक दैनिकी सहज र सुःखद् बनाउनु परिवार र राज्यको जिम्मेवारी हो । समाजमा स्वच्छ वातावरण, सरल व्यवहार, राम्रो सामाजिक सदभाव एवं सौहाद्रता र मर्यादित आचरण तथा अनुशासित जीवन जीउने संस्कारको सुनिश्चितता आजको आवश्यकता हो ।
अचेल बाबु भन्दा छोरो जान्ने खुकुरीभन्दा कर्द लाग्ने प्रवृति हावी हुनु शुभसंकेत होइन । संयुक्त परिवारमा बस्ने परम्परागत चलनमा क्रमश विचलन भइ एकल परिवारमा बस्ने बानी बढ्दै छ । वृद्धवृद्धा प्रति सन्ततीको कर्तव्य बोध र जिम्मेवारीको भावना क्रमश उपेक्षित हुदै गएको छ । जसकाकारण पारिवारिक स्नेहबाट अग्रजहरु विमुख हुन पुगेका छन् । दुख पिडा र हिनताबोध जस्ता निराशाजनक जीवन जीउन विवश हुन पुगेका वृद्धवृद्धाको सङ्ख्या बढ्दो क्रममा छ । मानव जीवनचक्रमा एकपटक पुग्नै पर्ने वृद्ध अवस्था हो । माया, ममता र करुणाका खानी ज्येष्ठ नागरिकको चित्त दुखाउनु सन्तती, समाज र सरकारका लागि आत्मघाती कदम हो । आफ्नो वृद्ध बाबुआमालाई बोझको रुपमा लिएर भीरबाट नदीमा फाल्न डोकोमा बोकेर लान लाग्दा नातीले डोको चाहीँ फिर्ता लिएर आउनुहोस् है बुबा, पछि तपाईहरुलाई मैले फाल्नुपर्छ भन्ने मार्मिक सन्देशलाई सबैले हेक्का राख्नु जरुरी छ । (लेखक नेपाल सरकारका पूर्व उपसचिव हुन्)