(विकिपिडियामा राजनीतिक भ्रष्टाचार: भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूको विरुद्धको आचरणलाई मानिन्छ । साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरूसित जोडिन्छ । भ्रष्टाचार बेइमानी वा आपराधिक अपराधको एक रूप हो जसमा एक व्यक्ति वा संगठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरू प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभको लागि शक्तिको दुरुपयोग गर्दछन् । भ्रष्टाचारमा धेरै गतिविधिहरू समावेश हुन सक्छन् जसमा घुसखोरी, प्रभावको कारोबार र अपचलन समावेश छन् । राजनीतिक भ्रष्टाचार, एक कार्यालय धारक वा अन्य सरकारी कर्मचारीले, व्यक्तिगत लाभको लागि आफ्नो आधिकारिक क्षमताको साथ कार्य गर्दा हुन्छ ।)
सबभन्दा पछिल्लो सयम नेताले संरक्षण गरेको भ्रष्टाचारको एउटा काण्ड ‘घुसको घर’ का रुपमा खुलासा भयो । त्यो थियो तत्कालीन प्रधानमन्त्रीका स्वकीय सचिवले यती समूहसँग लिएको वा उक्त समूहबाट पाएको एउटा घर । त्यस्तो घरलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्वीकार पनि भयो तर उनले दिएको प्रतिक्रियामा ‘भ्रष्टाचार नगरेको’ भन्ने दाबी भयो । तर घर खरिद भएको देखियो, रकम भने आदान प्रदान भएको देखिएन । यसैलाई अनुसन्धानले घुसबापत प्राप्त भएको घर अर्थात् घुसको घर भनेर चिनन र चिनाउन थालिएको छ जो विवरणहरुले पनि त्यसकै पुष्टी गर्छन् ।
ओलीको बचाउ मन्त्र
एमाले अध्यक्ष केपी ओलीले यती समूहको कम्पनी तारा एयरको नाममा रहेको घर आफ्नो स्वकीय सचिव राजेश बज्राचार्यले लिएको विषय सार्वजनिक रुपमा नै स्वीकार गरे । हिमालय टिभीले लिएको उनको एउटा अन्तर्वार्तामा उनले यतीको घर बज्राचार्यले लिएको हो तर कैको घर लिँदैमो भ्रष्टाचार भएको भन्ने कुरा चाहिँ गलत भएको उनको दाबी थियो ।
हालै प्रहरीले आफ्नो अनुसन्धानमा तारा एयरको नाममा बालकोटमा रहेको कोलोनीको घर ९६ लाख मूल्याङ्कन गरेर राजेशकी श्रीमतीको नाममा पास गरेको खुलेकोबारे विभिन्न माध्यमहरुले खुलासा गरेपछि ओलीको प्रतिक्रिया आएको हो । घर जग्गा त नामसारी भयो तर त्यसबापत राजेश, उनकी श्रीमती र तारा एयरबीच रकम लेनदेन भएको नखुलेपछि सीआईबीले त्यसलाई घुसबापत पाएको घर भनेर शङ्का जन्मायो र त्यहीबमोजिम अख्तियारबाट छानबिन गर्न सिफारिस गरेको अवस्था प्रकट भयो । यसैमा ओलीले आफना यी पूर्व स्वकीय सचिवलाई जोगाउन उत्रिएका हुन् । ओली बचाउमा उत्रिएका हुन् । पछल्लो समेत गरेर ओलीका चार कार्यकालमा राजेश नै निरन्तर स्वकीय सचिव थिए ।
आफ्ना स्वकीय सचिवले यती समूहको कम्पनीबाट घर किनेको र घर किनेबापत बैंकबाट रकम लेनदेन नभएको बारे ओलीको बचाउ टिप्पणी–
‘के यतीसँग घर किन्न हुन्न र ? अनि बैंकबाट गएको पैसा देखिएन रे, दुई–चार लाख गरेर नगदै दिन सकिन्न र ! राजेश बाल्यकालदेखि नै आफूसँग हुर्किएको बच्चा हो । उसले बदमासी गर्नै सक्दैन । नक्कली भुटानी शरणार्थी घटनामा जबरजस्ती नाम लिन लगाएर फसाउन खोजियो । वर्तमान सरकारले आफूसँग जोडिएको मान्छेलाई दुःख दिन लागेको मात्रै हो । छानामा पानी हाले मलाई बाछिटा पर्ला भनेर प्रयास गरेका हुन् । त्यस्तो केही लागे छानबिन गरे भइगयो त ।’
केहो घटना
दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा यती समूहको कम्पनीलाई उसैले बोलेको भन्दा धरैठूलो अङ्कमा कम हुनेगरी भाडामा दिने प्रक्रिया मिलाइदिएको भन्ने तत्कालीन प्रधानमन्त्री ओलीका यी स्वकीय सचिव बज्राचार्यमाथि आरोप लाग्यो । त्यस्तो गुन लगाएबापत उनले ‘घुस’ का रूपमा घरजग्गा प्राप्त गरेको भन्ने प्रहरीलेनै शङ्का गर्यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा बज्राचार्यले बालकोटस्थित रोजभिलेज हाउजिङमा प्राप्त गरेको सो घर यसअघि यती समूहकै भगिनी संस्था तारा एयरको नाममा रहेको थियो । त्यहाँबाट यो घरजग्गा त्यस्तो बेला यी स्वकीय सचिवकी पत्नीका नाममा विधिवत रुपले नामसारी भयो ।
नामसारी भएकै बेला यता दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा यती समूहको नाममा गएको थियो । विभिन्न माध्यमा प्रकाशित समाचार अनुसार सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनको प्रस्तावित राय सुझावमा नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा अनियमितता हुँदा सोही समयमा बज्राचार्यको परिवारको नाममा शङ्कास्पद रूपमा घरजग्गा नामसारी भएको देखिन आएको विवरण उल्लेख भएको छ ।
यो घटना आजभन्दा सात वर्ष जति अघिको कुरा हो । बालकोटको रोजभिलेज हाउजिङमा रहेको यो घर यस अघि तारा एयर प्रालिको स्वामित्वमा थियो । सोही समयमा तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्यकी श्रीमती रश्मी शाक्यको नाममा नामसारी भयो । नामसारी पनि कस्तो भने यो घर जग्गा कतिमा किनवेच भएको भन्ने नै खुलेन । मालपोतमा पासहुँदा रकम लेनदेन भएको नखुलेकाले नै यो घुसबापतको रहेको भन्ने सीआईबीको निचोड हो ।
प्रहरीको अनुसन्धान विवरणमा मालपोत कार्यालयको रेकर्डमा उक्त घरजग्गाको मूल्य ९६ लाख रुपैयाँ कायम गरी राजस्व तिरिएको देखिन्छ । तर, सीआईबीको वित्तीय अनुसन्धानले घरजग्गा पास हुँदा रश्मी शाक्य र तारा एयरबीच कुनै पनि आर्थिक कारोबार भएको भेट्टाएको पाइएन । समाचारामा भनिएअनुसार जग्गा र घरको स्वामित्व हस्तान्तरण हुनु तर त्यसबापतको रकम लेनदेन कतै नदेखिनुले यो कारोबारलाई सीआईबीले घुसका रूपमा विश्लेषण गरेको बुझ्न सकिन्छ । त्यसकारण यसको नामनै घुसको घर भन्ने रहन गएको हुनुपर्छ ।
त्यसैपनि ओली र यती समूहबीच सरकारी जग्गाको कारोबारमा धेरै काण्डहरुका सम्बन्ध बनेका छन् । यसैअन्तगर्त अर्को काण्ड हो गोकर्ण रिसोर्टको लिज प्रकरण । त्यसअघि दरबारमार्गको जग्गा लिज प्रकरण यो सम्बनधका कढीमा पर्छन् । गोकर्ण रिसोर्ट कुनै प्रतिस्पर्धा नगराइ कौडीको भाउमा दिइएको भन्ने आरोपको अनुसन्धान हुन बाँकी नै छ । ओली प्रधानमन्त्री रहेको बेलामा नेपाल ट्रष्टका नाममा रहेको जग्गाहरू करिब–करिब यती समूहले मात्रै भाडामा पाउने गरेकोे देखिन्छ जसमा अधिकांश यस्ता सम्झौतामा नेपाल ट्रस्टलाई नै घाटा पर्ने/पार्ने गरेको अवस्था वास्तवमा गम्भीर अनुसन्धानकै विषय हुनुपर्छ । प्रतिस्पर्धा नै नगराई २०७६ मा यती समूहलाई गोकर्ण रिसोर्ट र त्यहाँ रहेको २७ सय रोपनी बढी जग्गा भाडामा चलाउने अवधि बढाइदिएका घटनामा अनुसन्धान भएको छैन ।
पछिल्लोसमय दरबारमार्गको मुख्य ठाउँमा रहेको नेपाल ट्रस्टको कार्यालयसहितको जग्गा त्यही रुपले दिइएपछि यो चाहि अनुसरन्धानमा आयो । दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा लिने सन्दर्भमा यो ठाउमा पनि । यती समूहको प्रवेश भएको । अहिले अनुसन्धान भएको यती समूहकै थामसेर्कु प्राली र ट्रस्टबीचको भाडा प्रकरण हो । त्यसैबेला यो प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगेको थियो । अख्तियारले यसलाई तामेलीमा पठाइदियो । त्यसपछि रोकिएको यो मुद्दा यो पटक पहरीको अनुसन्धानमा पर्यो । सरकारी वकिलको कार्यालयले ट्रस्टको सम्पत्ति निजी कम्पनीलाई विवादित रूपमा लिजमा दिएर सरकारलाई ठूलो घाटा पुर्याएको भन्ने आरोपमा यो ठगी मुद्दा परेको हो जसमा चार अर्ब ८६ करोड बिगो भराउन माग भएको छ । जसमा ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ प्रालि र त्यसका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छन् । अभियोगपत्रमा भनिएको छ ‘ट्रस्टको सम्पत्ति निजी कम्पनीलाई विवादित रूपमा लिज/सम्झौतामा दिएर सरकार र ट्रस्टलाई ठूलो घाटा पुर्याएको देखिएको ।’
अभियोगपत्रका अनुसार नेपाल ट्रस्टको सञ्चालक समिति बैठकले दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा दिने योजनालाई २८ साउन २०७१ मा पहिलो पटक स्वीकृति प्रदान गरेको थियो । करिब दुई वर्षपछि जग्गा लिजमा दिन बोलपत्र आह्वान गरिएको थियो । त्यसक्रममा जग्गा भाडामा लिन थामसेर्कुले छ अर्ब २६ करोड रुपैयाँको प्रस्ताव बुझाएको थियो । तर त्रुटिवश गलत अङ्क परेको भन्दै २४ फागुन २०७३ मा एक अर्ब ४० करोड रुपैयाँको प्रस्ताव बुझाइएको थियो । प्राविधिक प्रस्तावमा सफल भएको दोस्रो नम्बरको साखः प्रालिले ६२ करोड २४ लाख ५८ हजार र आद्रिसिय–लियानज जेभीले २६ करोड २८ लाख रुपैयाँ प्रस्ताव गरेका थिए ।
पछि सम्झौतामा उल्लेख भएभन्दा अग्लो भवन बनाइयो । पहिले कित्ता नं. ४६०६ को हकमा सम्झौता हुँदा तीन तला निर्माण गर्ने उल्लेख भए पनि पाँचौ तलासम्म बनाइएपछि ३८ करोड ८४ लाख ५३ हजार र कित्ता नं. ४६०६ मा तीन तले भवन बनाउने उल्लेख भएकामा पाँचतले निर्माण गरिएकाले ३८ करोड ८४ लाख ५३ हजार थामसेर्कु र शेर्पाबाट भराउन पनि माग गरिएको छ ।
अदालतमा मुद्दा परेको आधार हो सीआईबीको अनुसन्धान प्रतिवेदन । त्यसैमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको समेत नाम पर्न गयो । त्यसमा थामसेर्कु ट्रेकिङलाई फाइदा हुने गरी क्रियाकलाप गरेर लाभस्वरूप भक्तपुरको कित्ता नं. १७५३ को जग्गा प्राप्त गर्ने जग्गाधनी रश्मी शाक्य र त्यसमा संलग्न रहेका मतियार, सहयोगी र विभिन्न ओहदामा बसेर दबाब, प्रभावमा पार्नेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अनुसन्धान गर्नुपर्ने भनिएकोे छ । घुसको घरका सन्दर्भमा प्रतिवेदन भन्छ, त्यसका लागि संकलित कागजातसमेत साथमै राखेर अख्तियारमा लेखी पठाउने निर्णय गर्न आवश्यक देखिन्छ ।
याद रहोस् तारा एयर प्रालि एउटा कम्पनी हो । त्यसका नाममा लेनदेन हँुदा कतैनकतै आधिकारिक रेकर्ड हुन्छ । एमाले अध्यक्ष ओलीले भने जस्तो पटकपटक दुईचार लाखका दरले तिरेको कुरा पनि रेकर्डमा हुनुप¥यो । त्यो कुरा नदेखिँदा नै यो सम्पत्तिको हस्तान्तरण शङ्कास्पद देखिएको हुनुपर्छ ।
शरणार्थी प्रकरण
ओलीका यी स्वकीय सचिव नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि मुछिएका पात्र हुन् । यो प्रकरणमा पक्राउ परेका एक अर्थात् प्रमुख भनेर चिनिएका अभियुक्त केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड रुपैयाँ दिएको बयान दिए । उनको यो बयानबाट पनि ओलीले आफ्ना यी सचिवलाई जोगाउन पछिल्लो प्रकरणसँगै यो प्रसङ्ग पनि उठाएका छन् । उनले भनेका छन् ‘नक्कली भुटानी शरणार्थी घटनामा जबरजस्ती नाम लिन लगाएर फसाउन खोजियो ।’
तर ओलीको यो दाबी मा कुनै सत्यता देखिँदैन । उनकै बयानबाट एकपूर्व गृहमन्त्री र एक गृहसचिव नै पक्राउ परेका थिए । त्यतिमात्र होइन पूर्व उपप्रधानमन्त्री तथा एमालेकै सचिव पनि यस्तो बयानबाट पक्राउ परेका हुन्, जो अहिले थुनामै छन् ।
प्रहरीले सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा दुलालले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा एक करोड नगदै बुझी लिएको ।’
दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्री क्वाटर पुल्चोकमै पुगेर तीन करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ मा एक करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा तीन करोड रुपैयाँ दिएको बयान दिएका छन् ।
दुलालको बयानको त्यो अंश
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वाटर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि तीन करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा एक करोड रुपैयाँ बुझी लिएको ।
त्यसैगरी तत्कालिन गृहसचिव प्रेमकुमार राईले डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल असार महिनामा तीन करोड नगदै बुझी लिएको, तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा एक करोड नगदै बुझी लिएको ।
तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले प्रधानन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ ऊर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी ऊर्जामन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझी लिएका हुन् ।
त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सल्लाहकार डा. अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल र ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराइसकेपछि तपाईंहरुको काम हुने भयो भनी डा. अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही एक करोड बुझी लिएका हुन् ।
काम नभएपछि पटकपटक रकम फिर्ता माग्दा धाकधम्की दिई हामी पावरमा छौँ, तिमीहरुको केही लाग्दैन हामीलाई फोन गर्ने भेट्ने काम नगर्नू भनी प्रतीक थापामार्फत खबर पठाउने गरेको र तपाईंहरुले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौँ, ६० प्रतिशत लैजानु भनी प्रतीक थापामार्फत नाम्लो रेस्टुरेन्ट पुल्चोकमा तत्कालीन गृहमन्त्रीबाट हटेको ५/६ दिनपछि मसँग भेट गरी प्रस्ताव गर्दा मैले र साथीहरुसँग ऋण खोजेर दिएको रकम हो, सम्पूर्ण रकम चाहियो भन्दा माथि उल्लिखित मानिसहरुसँग कुरा गरी खबर गर्छु भनी हालसम्म रकम फिर्ता नदिई पीडित बनाई ठगी गरेको र हाल झुटा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पूर्ण रकम फिर्ता गरी झुटा मुद्दाबाट सफाइ पाउँ भन्ने प्रतिवादी केशवप्रसाद दुलालले गरेको थप बयान कागज ।