दोलखा । भौगोलिक दुरी हिसाबले सदरमुकाम चरिकोटदेखि करिब २५–३० किलोमीटर पूर्वतर्फ पर्ने वैतेश्वर गाउँपालिका–३ मिर्गे कृषिमा आत्मनिर्भरसँगै व्यवसायिक गाउँ हो । यहाँका स्थानीयहरूले कृषि कर्मलाई आय–आर्जनको मुख्य स्रोतको रूपमा विकास गर्दै लगेका छन् ।
स्थानीयले ‘एक घर– एक करेसा बारी’ विस्तार गरी पछिल्ला वर्षहरूमा कृषि खेतीपातीमार्फत नै लाखौँ आम्दानी गर्न सफल भएका छन् । करिब चार हजार कुल सङ्ख्या रहेको मिर्गेमा ७० प्रतिशत स्थानीयहरूको दैनिकी खेतीपाती तथा कृषिमा बित्ने गरेको छ । यहाँको जैनालु र मिर्गे लहरेमाने आसपासका गाउँबस्तीबाट करोडौंको मौसमी तथा बेमौसमी तरकारी, फलफूल तथा खाद्यान्न र अलैंची तथा कुचो बिक्री हुँदै आएको छ । मिर्गेको फलेघर, डाँडाटोलमा पछिल्ला वर्षहरूमा घर–घरमा सिँचाइ पुगेसँगै कृषि खेती र उत्पादनमा वृद्धि आएको स्थानीय धन बहादुर तामाङले बताए । तामाङले पनि घरसँगै जोडिएको करेसा बारीभरी थरीथरीको तरकारी लगाएका छन् । मिश्रति तरकारी खेती गरेका उनले बारीमा लसुन, हरियो सागपात, आलु, तोरी, खुर्सानी, प्याज, गहुँ तथा सुन्तला र किवी लगाएको बताए । तरकारी तथा फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै आएका ७० वर्षीय तामाङ २०६२ सालदेखि ट्रेकिङ पेशा छोडेर कृषि कर्ममा रमाइरहेका छन् ।
सोही गाउँका अर्का स्थानीय प्रेम कुमार पाख्रीनले पनि बुढेसकालको पेशा कृषि बनाएका छन् । लामोसमय जागीरे जीवन बिताएका उनले अवकाशपछि कृषि पेशा रोजेको बताए । मिर्गेकै अगुवा कृषक दिनेश तामाङले पनि अलैंची, किवी तथा तरकारी खेतीबाट लाखौं आम्दानी गर्दै आएका छन् । उनले यहाँबाट वार्षिक दुई करोड बराबरको अलैंची निर्यात हुने गरेको जानकारी दिए । त्यसैगरी मिर्गेबाट लसुन, फर्सी, खुर्सानी, आलु, किवि तथा अन्य तरकारी पनि लाखौँको निर्यात हुने गरेको छ ।
मिर्गे चोकमा व्यापार व्यवसाय गर्दै आएकी शान्ति तामाङले मिर्गेका गाउँटोलबाट उत्पादन हुने हरेक कृषि उत्पादनलाई बजारसम्म पु¥याउने गरेकी छिन् । गाउँघरमा उत्पादन भएको कृषि उत्पादनलाई दैनिक सङ्कलन गर्दै किसानलाई उचित मुल्य दिएर काठमाडौँमा समेत निर्यात गर्दै आएको उनले बताइन् । उनले लहरेमाने चोकमा आफ्नै पसलमा सामान स्टोर गर्दै दैनिक काठमाडौँ–मिर्गे क्युको रूपमा चल्ने बसमा सामान राखेर बिक्रीको लागि काठमाडौँ पठाउने गरेको जानकारी दिइन् । गाउँका किसानले उत्पादन गरेको सागसब्जी, तरकारी फलफूलले सहज रूपमा उत्पादन मूल्य पाउन सकून् भन्ने उदेश्यले उनीहरूको उत्पादनलाई साँझ–बिहान बस छुट्नु अघि पसलमा ल्याउन लगाउने र भोलिपल्ट बसमा काठमाडौँ पठाउने गरेको उनले बताइन् ।
कृषकलाई कृषि तालिममसँगै प्राविधिक ज्ञानको अभाव
मिर्गेका स्थानीय कृषकहरूले खेतीपातीमा प्राविधिक सल्लाह र कृषि तालिमको अभाव भएको बताएका छन् । उनीहरूले फलफूल तथा तरकारी खेतीगर्दा प्राविधिक ज्ञानको कमीले कतिपय समय र सिजनमा लगाइएको तरकारी तथा फलफूल खेतीबाट ठुलो क्षतिसँगै समस्या खेप्नुपरेको बताए । प्राविधिक परामर्श र तालिम अभावले पुरानै शैलीमा तरकारी तथा फलफूल खेतीगर्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । मिर्गेको सबै क्षेत्रको जमिन खेतीयोग्य भएपनि कुन क्षेत्रमा के फल्छ ? कुन समयमा कसरी खेती लगाउने ? भन्ने प्राविधिक ज्ञानको कमि हुँदा सबैले एकै प्रकारको खेती गर्ने गरेको उनीहरूको भनाइ छ ।