काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको घोषित नियमित महाधिवेशन स्थगित भएको र अब विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइने बताएका छन्। महामन्त्रीद्वयले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको मागलाई सम्बोधन गर्ने पहिलो विकल्प नियमित महाधिवेशन भए पनि तोकिएको समयमा त्यो सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “नियमित महाधिवेशन निर्धारित समयमा सम्पन्न हुन नसक्ने परिस्थिति बनेपछि अब विशेष महाधिवेशन नै अघि बढाउनुपर्ने अवस्था आएको छ।”
पार्टी विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयको रहेको स्मरण गराउँदै महामन्त्रीद्वयले सोही व्यवस्था अनुरूप आवश्यक प्रक्रिया अघि बढाइने जनाएका छन्। सो प्रक्रिया सकेसम्म पार्टीभित्र सहमतिका आधारमा अघि बढाइने उल्लेख गरिएको छ।
पार्टीभित्र लामो समयदेखि नेतृत्व र कार्यविधि सम्बन्धी असन्तुष्टि बढ्दै गएको बेला बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता भएपछि कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरंग पैदा भएको छ।
अब पार्टी केन्द्रीय कार्यालयले विधानअनुसार विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने वा अन्य वैकल्पिक मार्ग खोज्ने विषयमा निर्णय लिनुपर्ने दबाबमा परेको छ।
