काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूले बढी व्यवसायमुखी हुँदा सिङ्गो बैंकिङ क्षेत्रको स्रोत र साधनको ठूलो हिस्सा बागमती प्रदेशमा मात्र केन्द्रित रहेको देखिएको छ । राष्ट्र बैंकले वित्तीय समावेशिता र वित्तीय पहुँच विस्तारको कुरा गरे पनि व्यवहारमा देखिनसकेको छैन । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनसम्बन्धी एकीकृत वार्षिक प्रतिवेदन २०८१÷०८२ अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा ११ दशमलव ९५ प्रतिशतले बढेर १६ खर्र्ब ९९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा नौ दशमलव ३५ प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३० दशमलव ४२ प्रतिशत रहेको छ ।
औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३५ दशमलव २७ प्रतिशत, विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६ दशमलव २६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २१ दशमलव ८५ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा ११ दशमलव ७० प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा चार दशमलव २३ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा शून्य दशमलव ६९ प्रतिशत कर्जा प्रवाह भएको छ । प्रतिवेदनअनुसार औद्योेगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १२ खर्ब ८० अर्ब ९७ करोड कर्जा लगानीमा रहेको देखिएको छ । त्यसपछि कोशी र लुम्बिनी प्रदेशको हिस्सा क्रमशः दोस्रो र तेस्रो क्रममा रहेको छ । औद्योगिक कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको हिस्सा नौ दशमलव पाँच प्रतिशत, मधेश प्रदेशको सात दशमलव पाँच प्रतिशत, बागमती प्रदेशको ७१ दशमलव तीन प्रतिशत, गण्डकी प्रदेशको एक दशमलव छ प्रतिशत, लुम्बिनी प्रदेशको आठ दशमलव तीन प्रतिशत, कर्णाली प्रदेशको शून्य दशमलव दुई प्रतिशत र सुदूरपश्चिम प्रदेशको एक दशमलव छ प्रतिशत रहेको छ । यसैगरी वित्तीय सेवा २०८२ असार मसान्तसम्ममा वाणिज्य बैंकका पाँच हजार ९९, विकास बैंकका एक हजार एक सय ३२, वित्त कम्पनीका दुई सय ९१ तथा लघुवित्त वित्तीय संस्थाका पाँच हजार चार र पूर्वाधार विकास बैंकको एउटा गरी जम्मा ११ हजार पाँच सय २७ शाखाहरू सञ्चालनमा रहेको देखिएको छ । यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी तीन हजार ३८ तथा कर्णाली प्रदेशमा सबैभन्दा कम चार सय ७९ शाखाहरू सञ्चालनमा रहेका छन् ।
२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १२ दशममलव पाँच प्रतिशतले वृद्धि भई ७२ खर्ब ९५ अर्ब ६९ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष यस्तो निक्षेप १२ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा आठ दशमलव दुई प्रतिशतले बढेर ५५ खर्ब ८६ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा पाँच दशमलव नौ प्रतिशतले बढेको थियो । २०८२ असार मसान्तमा कुल कर्जा कुल निक्षेप अनुपात ७६ दशमलव छ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा यस्तो अनुपात ७९ दशमलव छ प्रतिशत रहेको थियो । कर्जा निक्षेप अनुपात मधेश प्रदेशमा सबैभन्दा बढी एक सय २१ दशमलव छ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम ५८ दशमलव तीन प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६५ दशमलव आठ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा बागमती प्रदेशमा गरिएको कर्जा प्रवाहको अंश सबैभन्दा धेरै ५९ दशमलव पाँच प्रतिशत रहेको छ ।
सेवा क्षेत्रमा झण्डै २२ खर्ब कर्जा, सबैभन्दा धेरै बागमतीमै
बैंक तथा फाइनान्स कम्पनीहरूले सेवा क्षेत्रमा झण्डै २२ खर्ब रुपैंयाँ कर्जा प्रवाह गरेको देखिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा छ दशमलव छ प्रतिशतले बढेर २१ खर्र्ब ८४ अर्ब चार करोड पुगेको छ । गत वर्ष यस्तो कर्जा तीन दशमलव पाँच प्रतिशतले बढेको थियो ।
कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ३९ दशमलव एक प्रतिशत रहेको छ । सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये थोक तथा खुद्रा विक्रेता उपक्षेत्रमा सबैभन्दा बढी ४७ दशमलव तीन प्रतिशत कर्जा प्रवाह भएको छ भने रियल स्टेट उपक्षेत्रमा १२ दशमलव दुई प्रतिशत, पर्यटन उपक्षेत्रमा ११ दशमलव आठ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्ति उपक्षेत्रमा ११ दशमलव तीन प्रतिशत, शिक्षा उपक्षेत्रमा छ दशमलव छ प्रतिशत, यातायात, भण्डारण र सञ्चार उपक्षेत्रमा तीन दशमलव सात प्रतिशत, अन्य सेवा उपक्षेत्रमा तीन दशमलव सात प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्य सम्बन्धी उपक्षेत्रमा ३.३ प्रतिशत कर्जा प्रवाह भएको छ । सेवा क्षेत्रमा प्रवाहित कर्जामध्ये बागमती प्रदेशमा प्रवाहित कर्जाको हिस्सा सबैभन्दा बढी अर्थात ५९ दशमलव पाँच प्रतिशत रहेको छ ।
सबैभन्दा बढी कृषि कर्जा बागमती प्रदेशमै
बैंक तथा फाईनान्स कम्पनीहरूले सबैभन्दा बढी कृषि कर्जा पनि बागमती प्रदेशमा दिएको देखिएको छ । प्रतिवेदन अनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा शुन्य दशमव शुन्य चार प्रतिशतले घटेर तीन खर्ब ३६ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षमा समेत यस्तो कर्जा मा शुन्य दशमलव ८२ प्रतिशतले कमी आएको थियो ।
समीक्षा वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ६१ अर्ब १९ करोड कर्जा पशुपालन÷पशु बधशाला शीर्षकमा र सबैभन्दा कम सूर्तिमा २० करोड ६५ लाख रुपैंयाँ प्रवाह भएको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामा कोशी प्रदेशको अंश १६ दशमलव सात प्रतिशत, मधेशको १८ दशमलव सात प्रतिशत, बागमतीको ३६ दशमलव दुई प्रतिशत, गण्डकीको सात दशमलव एक प्रतिशत, लुम्बिनीको १५ प्रतिशत, कर्णालीको एक दशमलव पाँच प्रतिशत र सुदूरपश्चिम प्रदेशको चार दशमलव सात प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।