विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्योगको आवश्यकता र श्रम बजारको मागअनुसार सीप विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनले सीप विकास कुनै एक कार्यक्रमको एजेन्डा मात्र नभइ युवाको भविष्य, रोजगारी र सामाजिक उत्तरदायित्वसँग जोडिएको साझा विषय भएको बताए । विराट एक्स्पोमा आयोजना भइरहेको थिमेटिक सेसनमा आफ्नो भनाइ राख्दै कोइरालाले सीप विकास समय सापेक्ष हुनुपर्नेमा जोड दिए । औद्योगिक सहरको पहिचान बोकेको विराटनगरमा उद्योग–व्यवसाय विस्तार भइरहे पनि दक्ष जनशक्तिको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको मेयर कोइरालाको भनाइ छ ।
एकातिर उद्योगले दक्ष कामदार खोजिरहेका छन्, अर्कोतिर युवा रोजगारीका लागि विदेशिन बाध्य छन् । उनले भने, ‘सीप विकास र रोजगारी सिर्जनाबीचको यो असन्तुलनले औद्योगिक विस्तारमै असर पु¥याएको छ ।’ स्थानीय सरकार तालिम बाँड्ने निकाय मात्र नभइ युवालाई रोजगारीसँग जोड्ने सेतु बन्नुपर्ने उल्लेख गर्दै मेयर कोइरालाले महानगरपालिकाले सीप विकासलाई दीर्घकालीन रणनीतिक प्राथमिकतामा राख्ने स्पष्ट पारे । उद्योगसँग तादात्म्य नमिलेका तालिमले अपेक्षित उपलब्धि दिन सक्दैनन् । उनले भने, ‘सीप विकासमा गरिने लगानी खर्च होइन, यो भविष्यका लागि लगानी हो ।’
उनका अनुसार टिभेट (प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम)को नयाँ अवधारणाअनुसार उद्योगले चाहेको सीपको परीक्षण गरिनेछ । महानगरले सीपलाई प्रत्यक्ष रोजगारीमा रूपान्तरण गर्ने दिशामा काम गर्ने तयारी समेत गरेको उनले बताए । कार्यक्रममा टिभेटमा निजी क्षेत्रको भूमिकाबारे सगरमाथा आइल्याबले प्रस्तुति दिएको थियो । सहभागीहरूले टिभेटको उद्देश्य केवल प्रमाणपत्र वितरण नभइ उत्पादन वृद्धि गर्ने र उद्योगलाई आवश्यक जनशक्ति तयार गर्नु हुनुपर्नेमा जोड दिए । टिभेटसम्बन्धी शैक्षिक संस्था बढ्दै जाँदा उद्यम विकासमा समेत सकारात्मक योगदान पुग्ने उनीहरूको भनाइ थियो ।
सहभागीहरूले श्रम बजारको वास्तविक माग पहिचान गर्न नसक्दा समस्या आएको उल्लेख गर्दै १० वर्षअघिका पाठ्यक्रम अझै पढाइ भइरहेको तर्फ ध्यानाकर्षण गराए । पछिल्लो समय डिजिटल मार्केटिङजस्ता नयाँ सीपको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै उद्योग र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनीहरूको निष्कर्ष थियो । उद्योगले कस्तो जनशक्ति चाहिएको हो भन्ने जानकारी शैक्षिक संस्थालाई दिएपछि त्यसअनुसार पाठ्यक्रम सामाग्री विकास गर्न सकिने सहभागीहरूले बताए ।