काठमाडौं । नयाँ राजनीतिक दलका रूपमा गठन हुन लागेको राष्ट्रिय एकता दलले आगामी पुस २५ गते शुक्रबार काठमाडौँमा औपचारिक घोषणा सभा आयोजना गर्ने भएको छ ।
दलले जारी गरेको विज्ञप्तिअनुसार नेपालको राष्ट्रिय पहिचान, सामाजिक सद्भाव र दीर्घकालीन स्थायित्वलाई केन्द्रमा राख्दै दलको स्थापना गरिएको हो ।
संघीय हिन्दु गणतन्त्रको अवधारणा, नेपाली मौलिक धर्म–संस्कृति तथा सभ्यताको संरक्षण, र राष्ट्रिय एकताको सुदृढीकरण दलका प्रमुख एजेन्डा रहेको जनाइएको छ । राष्ट्रिय एकता दलका अनुसार यी विषयहरू कुनै विशेष समुदाय वा वर्गसँग सीमित नभइ नेपालको ऐतिहासिक निरन्तरता, सामाजिक सन्तुलन र राष्ट्रिय हितसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् ।
वर्तमान राजनीतिक र सामाजिक अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक राष्ट्रवादी राजनीतिक धार प्रस्तुत गर्ने उद्देश्यले औपचारिक घोषणा सभा गर्न लागिएको दलको भनाइ छ । दलले लोकतान्त्रिक व्यवस्थामा वैचारिक विविधता स्वाभाविक भए पनि राष्ट्रिय हितका साझा मुद्दामा राजनीतिक दलहरूबीच आपसी सम्मान, संवाद र सहकार्य आवश्यक रहेको उल्लेख
गरेको छ ।