काठमाडौँ, अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु भएसँगै राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन् ।काठमाडौँ महानगरपालिका–१६ ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फूयालले अङ्ग्रेजी नयाँ वर्षले नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको बताए । नब्बे कोठा रहेको उक्त होटल अङ्ग्रेजी नयाँ वर्षसँगै भरिभराउ रहेको उनको भनाइ छ । अधिकांश विदेशी पाहुना रहेको उनले बताए । नयाँ वर्ष मनाउन छिमेकी मुलुक भारत, मलेसिया, सिङ्गापुरलगायत देशबाट पर्यटक आएका छन् ।
काठमाडौँ–२६ मा सञ्चालित काठमाडौँ आगन्तुक होटल तथा अतिथि होटल तथा अपार्टमेन्ट ठमेलका सञ्चालक भविश्वर शर्माले अङ्ग्रेजी नयाँ वर्षसँगै ठमेल क्षेत्रको पर्यटन चलायान भएको बताए । ‘नेपाल घुम्न आउने अधिकांश विदेशी पर्यटक ठमेल आउने गरेका छन्, अङ्ग्रेजी नयाँ वर्षले ठमेल क्षेत्रलाई केही राहत पुगेको छ’, उनले भने । अङ्ग्रेजी नयाँ वर्षमा आफ्ना दुवै होटल भरिभराउ रहेको उनको भनाइ छ ।ठमेलमा साना तथा ठूला गरी झन्डै तीन सय होटल रहेका छन् । यस्तै तीन सयभन्दा बढी रेस्टुरेन्ट छन् । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका शर्माको कार्यकालमा ठमेल क्षेत्रमा तारको व्यवस्थापन, सीसी क्यामरा जडानलगायतका कामलाई अगाडि बढाइएको थियो । उक्त कार्यले हाल पनि निरन्तरता पाएको छ । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष एवं कामपा–२६ मा सञ्चालित ‘काठमाडौँ इको होटल’का सञ्चालक सहदेव (विमल) धमलाले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षमा ठमेल क्षेत्रमा पर्यटकको चहलपहल बढेको बताए । अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा भारतीय पर्यटकको बुकिङ बढेको छ ।
विश्वसम्पदा सूचीमा रहेका काठमाडौँ उपत्यकाका भक्तपुर, पाटन, स्वयम्भू, पशुपति र वसन्तपुरलगायत राजधानीका मुख्य पर्यटकीयस्थल घुमेपछि पर्यटकको बासस्थानको मुख्य रोजाइ ठमेल मानिन्छ । क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षमा भारत, अमेरिका, युरोप, चीन तथा बङ्गलादेशका पर्यटक बढीजसो आउने गरेका छन् । मुख्य बजार वरपर घुम्न वा राजधानी बाहिरका पर्यटकीय गन्तव्य पुग्नका लागि सहज हुने भएकाले ठमेल विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । राजधानीपछि पर्यटकको रोजाइमा पोखरा, अन्नपूर्ण क्षेत्र, लुम्बिनी, सौराह, जनकपुर र सगरमाथा आधार शिविरलगायतका क्षेत्र पर्दछन् । ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ ।
नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेलमा बस्ने गरेका छन् । काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले वार्षिक अर्बौँ रुपैयाँको कारोबार हुने ठमेललाई व्यवस्थित रूपमा सञ्चालन गर्न महानगरपालिका लागिरहेको बताए । ‘ठमेलभित्रका गल्ली कालोपत्र गर्ने, सीसी क्यामरा जडान गर्ने, तार व्यवस्थापन, ढल व्यवस्थापनलगायत काम स्थानीय सरकारले प्राथमिकताका साथ गर्दै आएको छ’, उनले भने । ठमेलभित्रको सुरक्षा भने प्रहरी वृत्त लैनचौर र प्रहरी वृत्त दरबारमार्गले गर्दै आएको छ ।