काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै जिम्मेवारी हस्तान्तरण गर्न निर्वाचनको तयारीमा लागि सकेको बताएका छन् । बिहीबार अध्यागमन विभागद्वारा काठमाडौँमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआईएस) कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकारवाला सबैको यथोचित भूमिकाको अपेक्षा गरेको पनि बताए । मन्त्री अर्यालले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने उदेश्य शुभारम्भ भएको यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत र बसाइँलाई प्रभावकारी बनाउने बताए । उनीहरूको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउन, विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न प्रणालीले सहयोग गर्ने उनको भनाइ छ । नेपाल बसाइका क्रममा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न, अपराधको अनुसन्धान प्रभावकारी बनाउन र विश्वस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न प्रणालीले सहयोग गर्ने विश्वास लिइएको छ ।