पाल्पा सिमेन्ट इन्डस्ट्रीज लिमिटेडले साधारण सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले पहिलो चरणमा यही पुस २५ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयरको बिक्री आह्वान गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अङ्कित मूल्य कायम रहने गरी ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता साधारण सेयर बिक्री गर्न अनुमति पाएको थियो ।
सोही आधारमा कम्पनीले प्रथम चरणमा आयोजना प्रभावितका लागि एक सय रूपैयाँ अङ्कित मूल्य कायम रहने गरी १८ करोड ७५ लाख रूपैैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पाँच करोड ६२ लाख ५० हजार रूपैयाँ बराबरको पाँच लाख ६२ हजार पाँच सय कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो । कम्पनीका अनुसार आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिँदा न्यूनतम १० कित्ताका लागि र अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको साधारण सेयरमा यही पुस ३० गतेसम्म आवेदन दिन सकिनेछ भने आयोजना प्रभावितका लागि निष्कासन गरिएको साधारण सेयरमा यही माघ नौ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
साधारण सेयर निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले ‘डबल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्छ ।
आयोजना प्रभावितले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार र गैंडाकोट शाखा, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा र सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयमा आवेदन फाराम पाउन र बुझाउन सक्नेछन् भने वैदेशिक रोजगारेले सेबोनबाट अनुमति पाइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।