काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई छ वटा कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन्।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रूपमा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन्। कुपोन्डोलमा बसेको छ पार्टीको संयुक्त बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनलाई ‘जनविरोधी, अलोकतान्त्रिक र विदेशी शक्तिद्वारा निर्देशित’ भन्दै अस्वीकार गरेको छ।बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा वर्तमान सरकारलाई ‘कठपुतली सरकार’ को संज्ञा दिँदै त्यसलाई तत्काल विघटन गर्न माग गरिएको छ।विज्ञप्तिमा भनिएको छ—“विद्यमान जनविरोधी, अलोकतान्त्रिक, कठपुतली सुशीला सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधानका लागि सशक्त संघर्ष अघि बढाइनेछ।” यी दलहरूले वर्तमान राजनीतिक प्रक्रियालाई अस्वीकार गर्दै जनसरोकारका मुद्दा समेट्ने वैकल्पिक राजनीतिक आन्दोलन अघि बढाउने संकेत गरेका छन्।फागुन २१ को निर्वाचनलाई लिएर सरकार तयारीमा जुटिरहेको अवस्थामा प्रमुख वामपन्थी धाराका केही दलहरूले बहिष्कार घोषणा गरेपछि राजनीतिक वातावरण थप तातेको छ।