काठमाडौं । तत्कालीन नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको सुपारी लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको हत्या गर्ने धम्की दिने कथित उग्रवादी संगठनका प्रमुख प्रकाश पाठक पक्राउ परेका छन् । काभ्रे घर भएका पाठक बिचौलिया नविन बस्नेत, महानिर्देशक प्रदिप अधिकारीको सुपारी लिएर राईको हत्या गर्ने धम्की दिएको अभियोगमा पक्राउ परेका हुन् । गत मंसिर १८ आर्थिक दैनिकमा यो घटना सार्वजनिक हुनेबित्तिकै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो भने नविन बस्नेतमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
भक्तपुरको नालिन्चोक हेलिप्याड निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा अधिकारीलाई विशेष अदालतले कारागार चलान गरेको छ । उग्रवादी समुहका प्रमुख भनिने प्रकाश पाठकले राईसहित १० व्यक्तिको हत्या गर्ने र हत्याका लागि जेलबाट भागेका कैदीको सहारा लिने भन्दै अख्तियारमै उजुरी दर्ता गराएका थिए । पाठकलाई फिलिपिन्स प्रहरीले पक्राउ गरी त्यहाँस्थित आप्रवाशन विभागमा बुझाएको छ । फिलिपिन्स समाचार एजेन्सीका अनुसार उनलाई डिपोर्टका लागि तयारी हुँदै छ । फिलिपिन्सस्थित अध्यागमन विभागले जारी गरेको विज्ञप्तिअनुसार ३३ वर्षीय पाठकलाई गत डिसेम्बर ३१ म बुलाकान प्रान्त, मालोलोस सिटी, पसियो दे कोन्ग्रेसो, बारंगाय कात्मोनबाट पक्राउ गरेको हो । उनलाई अहिले अध्यागमनको हिरासतमा राखेर देश निकालाको प्रक्रिया सुरु हुँदैछ ।
अध्यागमन विभागका अनुसार पाठकलाई फिलिपिन्स ट्रान्सनेसनल क्राइम केन्द्र (एऋत्ऋ)सँगको आधिकारिक समन्वय मार्फत पक्राउ गरिएको हो । पाठकलाई काठमाडौं जिल्ला अदालतले डिसेम्बर १, २०२५ मा आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको उल्लेख छ । त्यस्तै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोलमार्फत डिसेम्बर १२ मा पाठकविरुद्ध डिफ्यूजन जारी गरेको थियो । पाठकले नेपालमा जेन–जी आन्दोलनपछि फरार रहेको कैदीमार्फत राईसहितका उच्च अधिकारीको हत्या गराउने धम्की दिएका थिए । धम्की दिएको समाचार पहिलो पटक दियोपोस्टले खुलासा गरेको थियो ।
बीआईको अभिलेखअनुसार पाठक अगस्ट १८, २०२५मा फिलिपिन्स प्रवेश गरेका थिए र डिसेम्बर १८ सम्म देशमा बस्न अनुमति पाएका थिए ।अध्यागमन विभाग प्रमुख कमिस्नर जेएल एनथोनी भियाडोका अनुसार पाठकलाई राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियरको निर्देशनअनुसार गरिएको हो । उनले फिलिपिन्सलाई अन्तर्राष्ट्रिय फरार अपराधी बस्न नदिने निर्देशन दिएका थिए । ‘राष्ट्रपति जीको स्पष्ट निर्देशनअनुसार, हामी विदेशी फरार अपराधी वा उग्रवादीहरूलाई हाम्रो आप्रवासन प्रणालीको दुरुपयोग गर्न दिनेछैनौँ । जसले देश प्रवेश गर्दा सार्वजनिक सुरक्षालाई जोखिममा पार्छन्, वा अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धमा समस्या उत्पन्न गर्छन्, तिनीहरूलाई खोजी गरिने, पक्राउ गरिने र कानुनअनुसार सामना गरिनेछ’, उनले थपे ।