काठमाडौं । अन्य क्षेत्रमा कर्जामा माग सुस्त भए पनि ‘होमलोन’ अर्थात् व्यक्तिगत आवास कर्जामा बैंकहरूको आकर्षण बढेको छ । पछिल्लो समय वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहित ५४ संस्थाहरूले व्यक्तिगत आवास शीर्षकमा दिएको कर्जा बढेर पाँच खर्ब नजिक पुगेको हो । चालू आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ५६ खर्ब ३३ अर्ब ४६ करोड ५० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा मात्र कुल चार खर्ब ४२ अर्ब १३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो कर्जा गत आवको सोही अवधिको तुलनामा ४४ अर्ब ९० करोड ३० लाख रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा कुल तीन खर्ब ९७ अर्ब २३ करोड ४० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार विगतमा एक करोड ५० लाख रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवास शीर्षकमा राखे पनि चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका क्रममा तीन करोड रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवास शीर्षकमा राखिएका कारण पछिल्लो समय व्यक्तिगत आवास कर्जा बढेको देखिएको हो । वाणिज्य बैंकहरूले मात्र चालू आवको कात्तिक मसान्तसम्ममा कुल ५० खर्ब नौ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा मात्र कुल तीन खर्ब ४३ अर्ब ४१ करोड २० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २३ अर्ब ७६ करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिका वाणिज्य बैंकहरूले कुल ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा मात्र कुल तीन खर्ब १९ अर्ब ६४ करोड ६० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले भने चालू आवको कात्तिक मसान्तसम्ममा कुल पाँच खर्ब २१ अर्ब १६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा व्यक्तिगत आवासतर्फ मात्र कुल ८२ अर्ब ९१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १९ अर्ब ३६ करोड २० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल पाँच खर्ब सात अर्ब ६३ करोड ७० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा व्यक्तिगत आवासतर्फ मात्र कुल ६३ अर्ब ५४ करोड ५० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको कात्तिक मसान्तसम्ममा फाइनान्स कम्पनीहरूले भने कुल एक खर्ब तीन अर्ब २५ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा मात्र कुल १५ अर्ब ८१ करोड ८१ लाख ५० हजार रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक अर्ब ७७ करोड २० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब दुई अर्ब एक करोड ५० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा मात्र कुल १४ अर्ब चार करोड ३० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए ।