काठमाडौं ।गत भदौमा भएको युवा (जेन जी) आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिएको छ। आयोगका अधिकारीले उनको निवासमै पुगेर बयान लिएका आयोगका प्रवक्ता विज्ञानराज शर्माले बीबीसीलाई बताएका छन्। शर्माका अनुसार ओलीलाई आइतवार नै पत्र पठाइएको थियो।"उहाँले आजै आफ्नो स्टेटमेन्ट दिनुभएको हो," शर्माले भने।ओलीले आफ्ना भनाइ लिखित रूपमा राखेका बताइएको छ।ओलीले यस अघि आयोगमा बयान दिन नजाने अडान बारम्बार दोहोर्‍याउने गरेका थिए।"स्थानहदका बारेमा भने निर्णय भइसकेको छैन," शर्माले भने, "(त्यसबारे) आयोग बसेर निर्णय हुन्छ।" आयोगले ओलीलाई अनुमतिबिना काठमाण्डूबाहिर जान नपाउने गरी स्थानहद तोकेको छ।यसअघि ओलीको दल नेकपा एमालेका एक पदाधिकारीले ओलीकहाँ आयोगको पत्र पुगेको पुष्टि गरेका थिए।"आयोगले पत्र पठायो," नाम खुलाउन नचाहेका ती पदाधिकारीले ओली स्वयं बयानका निम्ति आयोगको कार्यालय भने नजाने दाबी गर्दै भनेका थिए, "उक्त पत्रको आधारमा आयोगका एक सहसचिव (बयानका निम्ति) घरै जाने भन्ने सुनेको छु।"नवयुवाहरूले भदौ २३ गते गरेको प्रदर्शनमा सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर कैयौँ व्यक्तिहरूको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट आन्दोलन चर्किएपछि राजधानी काठमाण्डूसहित विभिन्न स्थानमा हिंसात्मक गतिविधिहरू, लुटपाट, तोडफोड र आगजनीका घटनाहरू भएका थिए। त्यसपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। एमालेका अध्यक्षसमेत रहेका ओली र अन्य नेताहरूले गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्यसको आलोचना गर्दै आएका छन्। आयोगले तात्कालिक गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका नेतृत्वहरूसँग बयान लिइसकेको छ। (बीबीसी)