काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा पछिल्लो समय मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या बढ्दा शाखारहित सेवा केन्द्र र शाखारहित सेवा ग्राहकको संख्या निरन्तर घट्दै गएको छ ।
केही वर्षअघिसम्म पनि बैंक तथा फाइनान्स कम्पनीहरूले खर्च कटौती र बैंकिङ सेवा तथा पहुँच विस्तारको लागि भन्दै शाखा रहित सेवा केन्द्रहरू सञ्चालनमा ल्याउने गरेका थिए । तर पछिल्लो समय जेन–जी आन्दोलन, बैंकिङ क्षेत्रमा आएको सुस्तता आदिले गर्दा शाखारहित सेवा केन्द्र बैंकहरू स्वयम्लाई घाँडो बन्दै गएको छ । यसले पनि मोबाइल र इन्टरनेट बैंकिङप्रति ग्राहकको रुचि बढाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नेपाली बैंकिङ क्षेत्रमा कुल शाखारहित सेवा केन्द्रको संख्या जम्मा आठ सय छ । जसमध्ये वाणिज्य बैंकमा सात सय ९६, विकास बैंकमा चार र फाइनान्समा शून्य रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको एक हजार सात सय २२, विकास बैंकहरूको १७ र फाइनान्स कम्पनीहरूको शून्य गरी कुल एक हजार ८९ स्थानमा शाखारहित बैंकिङ सेवा केन्द्रहरू सञ्चालनमा थिए । सोअनुसार चालू आवको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरूमा दुई लाख ७६ हजार आठ र विकास बैंकहरूमा पाँच सय ४७ गरी कुल दुई लाख ७६ हजार पाँच सय ५५ जना शाखारहित सेवाग्राहीहरू रहेका छन् । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरूमा दुई लाख ९७ हजार दुई सय २९ र विकास बैंकहरूमा एक हजार तीन सय ६३ समेत गरी कुल दुई लाख ९८ हजार पाँच सय ९२ जना शाखारहित सेवाग्राही रहेका थिए ।
राष्ट्र बैंकका अनुसार नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या झण्डै तीन करोड पुगेको छ । चालू आवको कात्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको कुल संख्या दुई करोड ८६ लाख एक हजार चार सय ८८ पुगेको हो । जसमध्ये वाणिज्य बैंकहरूमा दुई करोड ४५ लाख २७ हजार एक सय २४, विकास बैंकहरूमा ३७ लाख ६५ हजार ६९ र फाइनान्स कम्पनीहरूमा तीन लाख नौ हजार दुई सय ९५ जना मोबाइल बैंकिङ ग्राहक संख्या रहेको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरूमा दुई करोड २० लाख ६३ हजार छ सय ७०, विकास बैंकहरूमा ३४ लाख ३१ हजार छ सय ५५ र फाइनान्स कम्पनीहरूमा दुई लाख ६२ हजार नौ सय १७ समेत गरी कुल दुई करोड ५७ लाख ५८ हजार दुई सय ४२ जना मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या रहेको थियो ।
पछिल्लो समय नेपालमा इन्टरनेट बैंकिङ ग्राहक संख्या भने २३ लाख २६ हजार एक सय ९८ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूमा १६ लाख ९८ हजार चार सय पाँच, विकास बैंकहरूमा छ लाख आठ हजार चार सय ४९ र फाइनान्स कम्पनीहरूमा १९ हजार तीन सय ४४ रहेको थियो । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरूमा १४ लाख ३८ हजार तीन सय ८५, विकास बैंकहरूमा छ लाख दुई हजार तीन सय ६२ र फाइनान्स कम्पनीहरूमा १६ हजार छ सय ९१ समेत गरी कुल २० लाख ५७ हजार चार सय ३८ मोबाइल बैंकिङ ग्राहक संख्या रहेको थियो ।