अमेरिका, भदौ २२
हजारौं अमेरिकीहरूले आफूले आदेश नगरेको बीउको प्याकेटहरू प्राप्त गरिको समाचार सार्वजनिक भएपछि ‘अनलाइन’ व्यापार गर्ने अमेरिकी कम्पनी ‘अमेजन’ले संयुक्त राज्य अमेरिकामा आयात गरिएको बीउको बिक्रीमा प्रतिबन्ध लगाएको छ । अमेरिकामा खासगरी चीनलगायत विदेशबाट आएका बन्द पोकाहरूभित्र माग नभएका शंकास्पद विउका दाना भेटिएका विवरणपछि ‘अमेजन’ को यो निर्णय आएको बताइएको छ ।
‘हामीले केवल अमेरिकी कम्पनीहरूबाट उत्पादित बीउको बिक्रीलाई अनुमति दिइरहेका छौँ’, विशाल अनलाइन विक्री सेवा प्रदायक कम्पनीले शनिबार जारी एक विज्ञप्तिमा उल्लेख छ । गत जुलाईको अन्त्यतिर अमेरिकी कृषि विभागले विदेशबाट माग नगरिएका बीउका पोकाहरू अमेरिकी कृषकहरूसम्म पुगेको जानकारी प्राप्त भएको र यस्ता वियले अमेरिकी कृषि षेत्रलाई खतरा उत्पन्न गर्ने भन्दै त्यस्ता बीउ नलगाउन कृषकलाई निर्देशन गरेको थियो ।
शंकास्पद पोका (पाकेट)हरू खोलेर हेर्दा पुदिना, रायो, गुलाबलगायत विभिन्न १४ प्रजातीका साग तथा फूलको विउ भेटिएको विभागले दावी गरेको छ । कृषि विभागले १२ अगस्टमा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘यस समयमा हामीसँग यो ‘विउलाई विस्थापन गर्ने हौवा’ बाहेक अरु केही हो भन्ने कुनै प्रमाण छैन । कहिलेकाहीँ विक्रेताहरूबाट केही यस्ता अनावश्यक चीजहरू प्राप्त हुन्छन् जसले बिक्रीलाई बढावा दिन गलत ग्राहक समीक्षा पठाइदिन्छन् ।’