काठमाडौं ।नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताउँदै नेता र कार्यकर्तालाई आगामी निर्वाचनमा जुट्न अपिल गरेका छन्। कोशी प्रदेश सभापति उद्धव थापा, मधेस प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ कि, कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मङ्सिर १५ को बैठकबाट पन्ध्रौँ नियमित महाधिवेशन २०८२ पौष १६ बाट वडाबाट सुरु गरी पौष २६–२८ सम्म सम्पन्न गर्ने निर्णय भए पनि, पूर्व आवश्यक क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्य सम्पन्न नहुनुका कारण सो समयमा महाधिवेशन सम्भव थिएन। त्यसैले २०८३ वैशाख २८–३१ मा नियमित महाधिवेशन हुने भएकोले, त्यसअघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको छ।
प्रदेश सभापतिहरूले कांग्रेसजनलाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारीमा जुट्न र २०८२ फाल्गुण २१ मा हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरेका छन्।
