काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहमा उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले भने, ‘नेपाल आज (आइतबार) खेलप्रेमी राष्ट्रको रूपमा सशक्तरूपमा स्थापित हुँदै गएको छ । क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ ।’
उनले खेल क्षेत्रमा आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपालका लागि सकारात्मक संकेत भएको धारणा राखे । राष्ट्रपति पौडेलले नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवं आत्मविश्वास अभिवृद्धि गर्ने काम गरिएकामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति धन्यवाद व्यक्त गरे । उनले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनौट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे ।