काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरी भर्ना तथा परिचालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । सोमबार गृह मन्त्रालयले मापदण्ड स्वीकृत गर्दै दुवै प्रहरीलाई पठाएको हो ।
नेपाल प्रहरीले एक लाख ३३ हजार नौ सय ८० जना र सशस्त्र प्रहरीले १५ हजार एक सय १० जना भर्ना गर्ने गृह मन्त्रालयले जनाएको छ । तर भर्ना भने एकमुष्ट हुने भएका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी सदस्यसचिव हुने र दुवै प्रहरीका जिल्ला प्रमुख रहने गरी निर्वाचन प्रहरी छनोट समिति गठन गरिने भएको छ । मन्त्रालयका अनुसार निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दुवै प्रहरीका जिल्लास्थित कार्यालयबाट निवेदन गर्न सकिनेछ भने छनौट भइसकेपछि मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीले आआफ्नो कोटाअनुसार टोली लैजानेछन् । तालिम भने दुवै प्रहरीले छुट्टाछुट्टै दिनेछन् ।
छनौट भएका निर्वाचन प्रहरीलाई १० दिन तालिम दिने र एक महिना निर्वाचनमा खटाउने स्वीकृत मापदण्डमा उल्लेख छ । नेपाल प्रहरीमा भर्ना हुने जनशक्ति नेपाल प्रहरीसँगै र सशस्त्र प्रहरीले भर्ना गर्ने जनशक्ति सशस्त्र प्रहरीसँगै खटिनेछन् । उनीहरूको सेवासुविधा प्रहरीका जवानसरह हुनेछ । बीमासँगै पोसाक र रासन भत्ता पनि पाउनेछन् । निर्वाचन प्रहरीमा पूर्वसुरक्षाकर्मी र यसअघिका निर्वाचनमा खटिएका (म्यादी)ले विशेष प्राथमिकता पाउनेछन् । अधिकांश मापदण्ड यसअघिकै जस्तो छ ।