काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पुर्ननिर्माण कोषमा रकम सहयोग गरेको छ । कम्पनीले सरकारको पुनर्निर्माण महाअभियानमा सहभागी हुन सोमबार भौतिक संरचना पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
मिति २०८२ भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडको कारण राष्ट्रिय सम्पदा एवम् भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतको लागि नेपाल सरकारद्वारा स्थापित भौतिक संरचना पुनर्निर्माण कोषमा कम्पनीको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम योगदान गरेको हो । अर्थ मन्त्रालयमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले उक्त रकमको चेक अर्थ मन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा अर्थ मन्त्रालयका उच्च अधिकारी तथा कम्पनीका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थित रहेको थियो ।
सरकारको पुनर्निर्माण अभियानमा गरेको सहयोगको लागि अर्थ मन्त्री खनालले धन्यवाद दिए । सोही क्रममा सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले राष्ट्र प्रतिको कर्तव्य बोधका साथ योगदान गरेको र गत वर्ष पनि बाढी पहिरो पीडित नागरिकको राहतको लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ योगदान गरेको बताउँदै, जेन–जी आन्दोलनको क्रममा क्षती भएका सम्पत्तीहरूको बीमा दाबीबापत हालसम्म एक अर्ब ९२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको जानकारी दिए ।