काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ ।
महासंघको गत मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासंघले जनाएको छ । महासंघले उक्त कार्यक्रममा महासंघका पदाधिकारी, प्रतिनिधि तथा सम्बन्धित सबै सदस्यहरूको सक्रिय सहभागिता रहने जनाएको छ । साधारणसभा तथा महाधिवेशनमार्फत संगठनको हालसम्मको गतिविधि समीक्षा गर्नुका साथै भावी कार्ययोजना र नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए । महासंघको पुस २५ गते बस्ने कार्यसमिति बैठकले महाधिवेशनको तयारी र समसामयिक विषयमा निर्णय गर्ने जनाइएको छ ।