काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीका नेताहरूसँग मंगलबार भएको भेटमा उनले विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताएको भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुषालले बताइन् ।
सबैको भावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसका लागि क्रियाशील रहेको नेता कोइरालाले बताए । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गर्न नहुनेमा पनि उनले जोड दिए ।
नेत्री भुसालका अनुसार अधिकांश केन्द्रीय सदस्यले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाका रूपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए । चिनकाजी श्रेष्ठ, डिला सङ्ग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत केन्द्रीय सदस्यहरू नेता कोइरालालाई भेट्न उनको सम्पर्क कार्यालय पुगेका थिए ।