दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका–८ फेदिमा रहेकोे जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा भएको आर्थिक हिनामिनाको समाचार आर्थिक दैनिकमा प्रकाशन भएपछि संस्थाका प्रमुख व्यवस्थापक यामबहादुर खड्काले ब्याजसहित रकम बुझाएका छन् ।
उनले हिनामिना भएको रकम १४ लाख ५६ हजार छ सय ६० रुपैयाँ ४८ पैसाको ब्याजसहित १५ लाख ३९ हजार पाँच सय दश रुपैयाँ सहकारीको खातामा दाखिला गरेका हुन् । वडाले तीन दिनभित्र समस्या समाधान गर्न गरेको निर्देशन दिएको थियो । जनकल्याण बहुउद्देश्यीय कोसमा साढे १४ लाख हिनामिना शिर्षकमा समाचार आएसँगै मंगलबार खड्काले तिर्नुपर्ने ब्याज सहितको रकम संस्थामा बुझाएका हुन् । आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भए अनुसारको उक्त रकम उनले तिरेको संस्थाका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिए ।
अध्यक्ष खड्काले सयौँ सेयर सदस्यको विश्वास र भरोसा बोकेको संस्थामा २०८१/०८२ बाट मिरा सफट्वेयरमार्फत संस्थाको सम्पूर्ण कारोबार प्रविधि मैत्री बनाइ चुस्त दुरुस्त बनाइएको बताए । उक्त सफट्वेयरमा इन्ट्री गर्दा दायित्व र सम्पत्ती मिलान हुँदा सम्पत्तितर्फ १४ लाख ५६ हजार छ सय ६० रुपैयाँ ४८ पैसा हिसाब नमिलेको पाइएको थियो । संस्थाको आर्थिक कारोबार गर्ने व्यवस्थापकबाट उक्त रकमको जिम्मेवारी लिने आव २०८१/०८२ को लेखा परिक्षणबाट उल्लेख भई आएपछि रकम असुल गरेर खड्कालाई व्यवस्थापकलाई हटाइएको उनले बताए ।
खड्काको कामकारबाही प्रति सेयर सदस्यहरूबाट व्यापक गुनासो आएसँगै संचालक समिति, लेखा समिति पूर्व संचालक समितिका पदाधिकारीसहितको संयुक्त बैठकले व्यवस्थापक याम बहादुर खड्कालाई हटाएर रामचन्द्र खत्रीलाई कार्यवाहक व्यवस्थापक नियुक्त गरेको छ । संस्थाका शुभचिन्तक तथा सुभेच्छुकहरू, सम्पूर्ण सरोकारवाला निकाय र सेयर सदस्यहरूमा ढुक्क भएर संस्थामा कारोबार गर्न अध्यक्ष खड्काले अनुरोध गरे ।