विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मुख्यमन्त्री कार्कीले पुराना सबै मन्त्रीहरूलाई हटाएर नयाँ नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री कार्कीको सिफारिसमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार मन्त्रिपरिषद हेरफेर गरी नवनियुक्त मन्त्रीहरूलाई सपथ गराएका छन् । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा एक सय ६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा मिति २०८१ वैशाख २७ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरेफेर र कार्यविभाजन विस्तार गरी नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सोही अवसरमा मुख्यमन्त्री कार्कीले नवनियुक्त राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतो सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्रालय र इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयको मन्त्रीमा नियुक्त भएका छन् । त्यसैगरी शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।