काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सन्जीवनी मा.वि. धुलिखेल काभ्रेका दृष्ट्रिसम्बन्धी अपांगता भएका विधार्थीहरूलाई ब्रेल शैक्षिक सामाग्रीहरू वितरण गरेको छ । उक्त ब्रेल शैक्षिक सामाग्रीहरू सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्रीलगायत एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा सन्जीवनी माविलाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
हाल यस विद्यालयमा २८ विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । ब्रेल शैक्षिक सामग्रीहरूले नेत्रहीन विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग गर्छन् । यसले समान शैक्षिक अवसर प्रदान गर्दै समावेशी शिक्षा र भविष्यका उच्च शिक्षा तथा रोजगारीका अवसरमा मद्दत गर्छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्ने योजना रहेको जनाएको छ ।
यस्ता प्रयासहरूमार्फत कम्पनीले नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समेत समान रूपमा अघि बढाउने विश्वास लिएको छ । साथै, भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
कम्पनीले हाल देशभर एक सय ६९ वटा शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पुँजी पाँच अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै, २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।