काठमाडौँ । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्वलाई दृष्टिगत गर्दै, कोशी प्रदेशको विभिन्न जिल्लाका स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि आवश्यक हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्ने उद्देश्यले बैंकले आफ्नो शाखा नभएका स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको छ । यो प्रयास बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित एउटा महत्वपूर्ण पहल हो र यसअन्तर्गत बैंकले हालसम्म देशभर ७० वटा मेसिन जडान गरिसकेको छ ।
ज्योति विकास बैंकको पहलमा सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. १२ स्थित सिसुवाखोला हेल्थ पोस्ट र मकालु गाउँपालिका वडा नं. ०५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्रमा बेबी वार्मर जडान गरिएको हो । साथै, खोटाङ जिल्लाको जालपा वडा नं. १२ स्थित पुजनसेवा नगर अस्पताल र पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं. ०२ स्थित एकतीन हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको हो । उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो ।
स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ् मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले बैंकले विभिन्न चरणहरूमार्फत देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरूमा यस अघि प्रदान गरेका ६६ वटा बेबी वार्मर उपकरणहरूमार्फत हरेक वर्ष करिब दुई हजार चार सय ४२ भन्दा बढी नेपाली शिशुहरूलाई यो सुविधा उपलब्ध गराइ वहाँहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । साथै हालसम्मको योगदानले करिब बाह्र हजार दुई सय १० भन्दा बढी शिशुहरू प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन् । यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक पहलकदमीलाई निरन्तरता प्रदान गरेको छ ।
आफ्नो खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याइ समाजप्रति उत्तरदायी बनेको यो बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ । यस विकास बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा ४१ करोड रुपैयाँ करमा योगदान पुर्याएको छ ।
बैंकले हाल एक सय १८ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।