काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बैकले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सो अवसरमा बैंकले २०८२ साल आषाढ मसान्तको वासलात तथा आव २०८१÷०८२ को नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा÷नोक्सान बाँँणफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ । यसैगरी वार्षिक साधारणसभामार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम १० दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन भएको छ । यसअन्तर्गत आव २०८१÷०८२ को वितरणयोग्य नाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको पाँच दशमलव ३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थसमेत) तथा पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले सात प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकको आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा समग्र वित्तीय परिसूचकहरूमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा आधार दर नौ दशमलव ३९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा छ दशमलव ९४ प्रतिशत रहेको छ । साथै पुँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४ दशमलव ९३ प्रतिशतबाट वृद्धि भई १७ दशमलव शून्य छ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैकको निक्षेप ५६ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने कर्जा तथा सापटी ४७ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।
साथै, यस बैंकको नियमावलीबमोजिम सस्ंथापक समूह (क) बाट तीनजना र सर्वसाधारण समूह (ख) बाट तीनजना गरी जम्मा छ जना सञ्चालक निर्वाचन गर्ने साधारण सभामा प्रस्ताव भए बमोजिम सस्ंथापक सेयरधनी समूह (क) बाट तीनजना क्रमशः राजेश उपाध्याय, संजय गिरि र ग्रोइङ्ग प्रालिको तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह (ख) बाट तीनजना क्रमशः श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित संचालक समितिको आजै बसेको पहिलो बैठकबाट राजेश उपाध्यायलाई संचालक समितिको अध्यक्षको रूपमा चयन गरेको छ ।
सभाका अध्यक्ष राजेश उपाध्यायले सेयरधनीहरूबाट प्राप्त सल्लाह सुझावलाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ता व्यक्त गरे । साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पुर्याएको सहयोगको लागि धन्यवाद ज्ञापन गरे ।