काठमाडौं । नेपाली कांग्रेस पार्टी औपचारिक विभाजनतर्फ अघि बढेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि औपचारिक आह्वान गर्दै आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विशेष महाधिवेशन बोलाउनु महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “पौष २८ भित्र विशेष महाधिवेशन गर्न हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूको तर्फबाट गरिएको प्रयास पूर्ण रूपमा वैधानिक, कानूनी र राजनीतिकरूपमा बाध्यकारी छ।”
महामन्त्रीद्वयले पार्टी विधानअनुसार विशेष महाधिवेशन नबोलाउनु, जिम्मेवारीअनुसार काम नगर्नु र विधानको पालना नगर्नु राजनीतिक दलसम्बन्धी कानुन तथा पार्टी विधानको उल्लंघन भएको आरोप पनि लगाएका छन् ।

उनीहरूले कांग्रेस विधानको धारा १७९(२०) तथा अन्य सम्बन्धित धाराहरू उल्लेख गर्दै २०८२ साल पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरिने स्पष्ट पारेका छन् । उक्त महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सफल बनाउन सबै महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन आह्वान गरिएको छ ।
तर संस्थापन पक्षले भने यो विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै पार्टी पङ्क्तिलाई त्यसमा सहभागी नहुन निर्देशन दिइसकेको छ । यससँगै कांग्रेसभित्र शक्ति संघर्ष खुलेर सतहमा आएको छ र पार्टी औपचारिक विभाजनतर्फ धकेलिएको राजनीतिक विश्लेषकहरूको आकलन छ ।