नेपाली युवायुवतीहरूलाई विभिन्न प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी भएको तथ्य सार्वजनिक भएको छ । काठमाडौंंको कोटेश्वरमा रहेको कोज्मो एजुकेसन कन्सल्टेन्सीले क्रोयसिया र बुल्गेरियामा नेपाली युवायुवतीहरूलाई आकर्षक काममा लगाइदिने भन्दै १८ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको पीडितहरूले बताएका हुन् । रोजगारीको नाममा बुल्गेरिया र क्रोयसिया पठाइदिने भनेर रकम लिए पनि लामो समयसम्म ती देशमा कामको लागि नपठाएपछि पीडित युवायुवतीहरूले कोटेश्वरमा रहेको कोज्मो एजुकेसनको कार्यालय घेराउ गरेका थिए । घेराउपछि पीडितहरूले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले उक्त कम्पनीमा कार्यरत हिमा नायक र आस्था खड्कालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरका इन्सपेक्टर पुष्प थापाका अनुसार ती दुई व्यक्तिलाई यही पुस २१ गते कोटेश्वस्थित कम्पनीको कार्यालयबाट पक्राउ गरिएको हो ।


‘उनीहरूलाई ठगीभन्दा पनि सेवाग्राहीलाई दुव्र्यवहार गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो’, इन्सपेक्टर भण्डारीले आर्थिक दैनिकसँग भने, ‘पक्राउ परेका दुवै जनालाई अहिले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको र अनुसन्धानको क्रममा वैदेशिक रोजगारी शीर्षकमा ठगी गरेको देखिए थप अनुसन्धान तथा कारबाहीको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग पठाउँछौँ ।’
कोज्मो एजुकेसनमा ठगी भएको भनिएका पीडितमध्येका एक चन्द्र स्याङतान तामाङले भने पक्राउ गरिएका भनिएका दुई जना व्यक्तिहरूलाई दुव्र्यवहार गरेको उजुरीको आधारमा नभई ठगी गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको जिकिर गरे । ठगी कार्यमा उनीहरूको पनि संलग्नता रहेको र पक्राउ परेका मध्ये एक जना म्मानेजर र एक जना कर्मचारी रहेको पनि उनले बताए । ‘यी दुईका मालिक अर्थात् कम्पनीका सञ्चालक करोडौँ रुपैयाँ ठगेर अहिले पनि नेपाल लुकेर बसेको सुनेका छौँ’, उनले भने, ‘मैले बुल्गेरीमा रोजगारीको लागि भनेर दुई लाख ७५ हजार रुपैयाँ बुझाएको हुँ, अन्य साथीहरूले पनि दुईदेखि पाँच लाख रुपैयाँसम्म बुझाउनुभएको रहेछ । उक्त कम्पनीबाट ठगिएका साथीहरूको नाम र ठगी गरेको रकम संकलन गर्दै छौँ, अहिलेसम्म झण्डै तीन सय जनाको १८ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको देखिएको छ ।’
पीडित स्याङतानका अनुसार कोज्मोले आनन्द बानियाँबाट एक लाख ९८ हजार, पियुस पाण्डेबाट एक लाख ३५ हजार, जंगबहादुर केसीबाट दुई जनाको लागि चार लाख २९ हजार, भरत भण्डारीबाट एक लाख ३० हजार, सविन थापाबाट एक लाख ३१ हजार पाँच सयm भरत कुँवरबाट एक लाख ३१ हजार पाँच सय ठगी गरेको छ । यसरी ठगिनेको संख्या धेरै भएको उनी बताउँछन् । ‘मैले त श्रीमती अश्मिता गिरीसहित कामको लागि बुल्गेरिया जाने भनेर आफ्नो नामबाट तीन लाख ४८ हजार पाँच सय र श्रीमतीको नामबाट एक लाख ४८ हजार पाँच सय रुपैयाँ बुझाएको हुँ । अहिले हामी न्यायको लागि वैदेशिक रोजगार विभागमा कोज्मो एजुकेसनको ठगीको बारेमा मुद्दा दर्ता गरेका छौँ, कोज्मोबाट ठगिएका अर्का एक पीडित हरिराज गिरी भन्छन्, ‘कोज्मोका मुख्य सञ्चालक सर्लाहीका लालबहादुर राम भएको र अहिले रकम ठगेपछि फरार छन् ।’
पीडितहरूका अनुसार कोज्मोले बुल्गेरिमा क्लिनर, जेनरल वर्कस, प्याकेजिङ, लाइट हेभी ड्राइभर आदि काममा आकर्षक पारिश्रमिकको लोभ देखाएर रकम ठगी गरेको हो । कुनै अन्तरवार्ताविना नै सिधै डकुमेन्ट पेस गरेको आधारमा कम्पनीले कामदार छनौन गरी विदेश लाने प्रलोभन दिएर उक्त कम्पनीले ठगी गरेको पीडितहरूको भनाइ छ । पीडितहरूका अनुसार आन्तरिक राजस्व कार्यालय कोटेश्वरमा समेत दर्ता रहेको कोज्मोले आफ्नो व्यवसायको कारोबारहरूमा भाषा अनुवाद, भाषा सम्पादनसम्बन्धी क्रियाकलापहरू, रोजगारी उपलब्ध गराउने एजेन्सीका क्रियाकलापहरू रहेको उल्लेख गरेको छ ।
उक्त कम्पनीको बुल्गेरिया रोजगारीको आकर्षक पोस्टर बनाएर प्रचार गर्दै सुरज लामा, ज्ञानेन्द्रबहादुर थापा, अशोक थापासहितका तीन सयभन्दा बढी व्यक्तिहरूलाई ठगी गरेको पीडितहरूको भनाइ छ । अहिले पीडित युवाहरूले आफू बुल्गेरिया रोजगारीको नाममा ठगिएको थाहा पाएपछि रकम फिर्ता र उचित क्षतिपूर्तिको माग गर्दै उक्त कन्सल्टेन्सी घेराउ गरेका छन् । पीडितहरूका अनुसार उक्त कन्सल्टेन्सीले रोजगारीको लागि पठाउने भन्दै सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक र इसेवामार्फत रकम जम्मा गर्न लगाउँदै युवायुवतीहरूलाई ठगी गरेको छ ।
कोज्मो एजुकेसनको ठगीको बारेमा जानकारी माग्दा वैदेशिक रोजगार विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर सिवाकोटीले भने यसको बारेमा आफूलाई त्यति जानकारी नभएको भन्दै अनुसन्धान तथा मुद्दा शाखाका निर्देशक प्रयागदत्त जैसीलाई सम्पर्क गर्न आग्रह गरे । उनकै आग्रहमा निर्देशक जैसीसँंग सम्पर्क गर्दा अहिलेसम्म कोज्मोको बारेमा मुद्दा दर्ता भई नसकेको र दर्ता प्रक्रियामा रहेको बताए । ‘पीडितहरूको तर्फबाट मंगलबार दुई जना व्यक्ति आउनुभएको थियो, सायद भोलि, पर्सिसम्म मुद्दा दर्ता हुन्छ होला । मुद्दा दर्ता भएपछि अनुसन्धान गरी इमर्जेन्सी पक्राउ पुर्जी जारी गरेर सम्बन्धित व्यक्तिलाई पक्राउ गर्छौँ ।’