काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा बुधबार दायर गरिएको मुद्दामा अध्यक्ष कुमारसहित सोही पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह र तत्कालीन लेखापाल सञ्जय पटेल तथा वीरगन्जस्थित विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि र यसका सञ्चालक कमल कुमार उपाध्यायलाई विपक्षी बनाइएको छ ।
उनीहरुविरुद्ध समान चार लाख २९ हजार चार सय बिगो कायम गरिएको आयोगले जनाएको छ । २०७९ फागुन १९ गते एक दैनिक पत्रिकामा पालिको ठेक्का नम्बर १८/२०७९/०८०, १९/२०७९/०८० र २०/२०७९/०८० को लागि आह्वान गरिएको बोलपत्र प्रकाशित गरिएको भने पनि त्यो दिन सूचना प्रकाशन नभएको पाइएको छ ।
पालिकाको खानेपानीको ट्युबबेल जडान, स्टेडियम निर्माण कार्यक्रम र चारकोठे भवन निर्माणको लागि सूचना प्रकाशन गर्ने निर्णय भएको थियो । तर एजेन्सीलाई रकम दिएर अध्यक्षलगायतले मिलेमतोमा सूचना प्रकाशनको झूठो मिति राखेको पाइएको छ । उनीहरुविरद्ध भ्रष्टाचार निवारण ऐन २०५८ अनुसार कारबाही गर्न अख्तियारले माग गरेको छ ।