काठमाडौँ । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैरव्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने पाँच सय ९९ जना प्रहरीलाई कारबाही गरिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवं प्रहरी पोषाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई विभागीय कारबाही गरिएको हो । कारबाही पर्नेहरूमा एक प्रहरी नायब महानिरीक्षक, एक प्रहरी वरिष्ठ उपरीक्षक, चार प्रहरी उपरीक्षक, पाँच प्रहरी नायब उपरीक्षक, २४ प्रहरी निरीक्षक, ११ प्रहरी वरिष्ठ नायब निरीक्षक, २४ प्रहरी नायब निरीक्षक, ५१ प्रहरी सहायक निरीक्षक, सात प्रहरी वरिष्ठ हवल्दार, ३५ प्रहरी हवल्दार, ७६ सहायक हवल्दार, तीन सय ५८ प्रहरी जवान र कार्यालय सहयोगी दुईजना रहेका छन् । उनीहरूलाई संगठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मको कारबाही गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन २०७१ पुस ११ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने सम्बन्धी निर्देशिका लागू गरेको छ । साथै, प्रहरीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ एवं प्रहरी प्रधान कार्यालयबाट गरिएका परिपत्रहरूमा समेत प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालमा गैरव्यावसायिक र अमर्यादित आचरण प्रदर्शन हुनेगरी हातहतियार, पोषाक, सवारी साधन लगायत प्रहरी गतिविधिका भिडियो÷फोटो अपलोड गर्न, टिकाटिप्पणी गर्न बन्देज गरिएको छ । यसैगरी सामाजिक सञ्जालको प्रयोग गर्दा प्रहरी कर्मचारीहरूले गोपनियता, शान्ति सुरक्षा, धार्मिक तथा साम्प्रदायिक गतिविधि लगायतमा खलल पुग्ने जस्ता कुनै पनि सामग्री पोष्ट, सेयर, लाइक या टिप्पणी गर्न हुदैन । सङ्गठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मको कारबाही गरिएको छ । पछिल्लो समय प्रहरीको सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीति विपरीतका सामग्री हटाउन र कारबाहीको दायरामा ल्याउने कार्यलाई प्रहरीले तीब्र बनाएको छ ।