काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको संस्थापक समूहको दुई लाख कित्ता सेयर सबैले खरिद गर्न पाउने गरी लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा राखिएको बैंंकले जानकारी दिएको छ ।
बैंकको सेयर बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम एक सय ४० रुपैयाँमै सेयर बिक्रीमा राखिएको हो । सेयर खरीदका लागि इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले आज पुस २३ गतेदेखि माघ २ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा सम्पूर्ण कित्ता (२ लाख) खरिदका लागि दिनु पर्नेछ । गोप्य शिलबन्दी बोलपत्र फाराम काठमाडौँको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउँनु पर्नेछ ।
बिक्री अवधिमा परेका बोलपत्रहरू माघ ४ गते दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ । बोलपत्र पेश गर्दा प्रतिकित्ता कम्तीमा एक सय ४० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्ने बैकको भनाइ छ ।