काठमाडौं । पर्यटन राजधानी पोखरामा पहिलो पटक थाइल्याण्डको चर्चित चेन होटल ‘द सेन्टारा कलेक्सन’ अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराले संकट ओपनिङ गरेको छ ।
नयाँ वर्ष अर्थात् सन् २०२६ जनवरीदेखि कास्की जिल्लाको कास्कीकोटमा रिसोर्ट सञ्चालनमा आएको कम्पनीका प्रबन्ध निर्देशक प्रपाइजित थोङ्माले जानकारी दिए । उनका अनुसार रिसोर्टको औपचारिक उद्घाटन (ग्रान्ड ओपनिङ) छिट्टै गरिनेछ । ‘द सेन्टारा कलेक्सनअन्तर्गतको लक्जरी ब्रान्ड पोखरामा ल्याउन पाउँदा हामी निकै खुसी छौँ । नयाँ वर्षको सुरुवातसँगै पाहुनाहरूले पोखरामा अन्तर्राष्ट्रियस्तरको लक्जरी पर्यटनको अनुभव गर्न पाउनुहुनेछ’, थोङ्माले भने । रिसोर्ट पोखरा सहरबाट करिब ३५ मिनेटको दूरीमा रहेको कास्कीकोटमा अवस्थित छ । यहाँबाट अन्नपूर्ण हिमशृंखला र माछापुच्छ्रे हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । साथै रिसोर्ट क्षेत्रबाट फेवातालमाथि उड्ने प्याराग्लाइडिङको दृश्य समेत नजिकबाट हेर्न सकिनेछ । रिसोर्टमा स्वीट र भिल्लासहित कुल ४२ वटा कोठा रहेका छन् । प्रत्येक कोठामा निजी बगैँचा र फराकिला बाल्कोनीको सुविधा उपलब्ध छ । रिसोर्टमा २४सै घण्टा सञ्चालन हुने रेष्टुरेन्ट, बार तथा लाउञ्ज, स्विमिङ पुल, टी–हाउस र स्पा सेवा पनि रहेका छन् ।
कम्पनीका अनुसार उद्घाटन अवसरमा नेपाली पाहुनाका लागि विशेष अफर सार्वजनिक गरिएको छ । यसअनुसार सन् २०२६ मार्च ३१ सम्म प्रतिरात २५ हजार रुपैयाँमा बेड एन्ड ब्रेकफास्ट प्याकेज उपलब्ध हुनेछ । साथै खाना तथा स्पा सेवामा १० प्रतिशत छुट र अपराह्न निःशुल्क चियाको व्यवस्था गरिएको छ । यो परियोजना सामाजिक उद्यम अवधारणामा आधारित रहेको कम्पनीले जनाएको छ । स्थानीय रोजगारी सिर्जना, सीप विकास र समुदायको आर्थिक सशक्तीकरणमा योगदान पु¥याउने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो । रिसोर्ट सञ्चालनमा आएपछि पोखरालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी, वेलनेस तथा साहसिक पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।