काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ सम्मानित भएका छन् । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले नाडा र उपाध्यक्ष श्रेष्ठलाई सम्मान गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको समितिले अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संशाधन विकासमा उल्लेखनीय योगदान पुर्याएको कदर गर्दै नाडालाई सम्मान–पत्र प्रदान गरेको छ । साथै अटोमोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको हैसियतले प्रभावकारी, प्रशंसनीय र नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानको कदरस्वरूप नाडा उपाध्यक्ष श्रेष्ठ लाई प्रशंसा–पत्र प्रदान गरिएको नाडाले जनाएको छ ।
नाडाका अनुसार सम्मान तथा प्रशंसा–पत्रहरू राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो । नाडाको सहकार्यमा अटोमोबाइल्स क्षेत्रमा श्रम बजारको मागअनुसार तयार गरिएका ट्रेड–आधारित सीपमूलक तालिम पाठ्यक्रमहरू—विशेषगरी एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत प्राविधिकजस्ता कार्यक्रमहरूले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको उललेख प्रमाण–पत्रमा गरिएको छ । नाडाले आगामी दिनहरूमा पनि सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अटोमोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना र प्राविधिक जनशक्ति उत्पादनमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।