काठमाडौँ । बैंक तथा फाइनान्स कम्पनीहरूले सेवा क्षेत्रमा मात्र झण्डै २२ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहित ५४ बैंक तथा वित्तले गत असार मसान्तसम्म सेवा क्षेत्रमा २१ खर्र्ब ८४ अर्ब चार करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् ।
यो कर्जा कर्जा २०८१ असार मसान्तको तुलनामा छ दशमलव छ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/०८२को एकीकृत वार्षिक प्रतिवेदनअनुसार बैंक तथा फाइनान्स कम्पनीहरूले सेवा क्षेत्रमा प्रवाह गरेको कुल कर्जा प्रवाहमध्ये सबैभन्दा धेरै कर्जा बाग्मती प्रदेशमा गएको छ । बागमतीमा कुलमध्ये ५९ दशमलव छ प्रतिशत अर्थात् १२ खर्ब ९९ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
यसबाहेक कोशीमा १० दशमलव एक प्रतिशत अर्थात् दुई खर्ब २१ अर्ब ४६ करोड तीन लाख, मधेशमा नौ प्रतिशतका दरले एक खर्ब ९६ अर्ब ७६ करोड ७० लाख, गण्डकीमा छ दशमलव नौ प्रतिशत अर्थात् एक खर्ब ५१ अर्ब ५९ करोड ८१ लाख, लुम्बिनीमा १० दशमलव तीन प्रतिशतका दरले दुई खर्ब २९ अर्ब ९५ करोड २३ लाख, कर्णालीमा एक दशमलव एक प्रतिशत अर्थात् २४ अर्ब २७ करोड ५५ लाख, सुदूरपश्चिममा तीन प्रतिशतका दरले हुन आउने ६५ अर्ब ६० करोड ४० लाख रुपैयाँबराबरको मात्र कर्जा प्रवाह भएको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार सेवा क्षेत्रमा प्रवाह भएको कुल कर्जा गत वर्ष तीन दशमलव पाँच प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ३९ दशमलव एक प्रतिशत रहेको छ । सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये थोक तथा खुद्रा बिक्रेता उपक्षेत्रमा सबैभन्दा बढी ४७ दशमलव तीन प्रतिशत कर्जा प्रवाह भएको छ भने रियल स्टेट उपक्षेत्रमा १२ दशमलव दुई प्रतिशत रहेको छ । यीबाहेक पर्यटन उपक्षेत्रमा ११ दशमलव आठ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्ति उपक्षेत्रमा ११ दशमलव तीन प्रतिशत, शिक्षा उपक्षेत्रमा छ दशमलव छ प्रतिशत, यातायात, भण्डारण र सञ्चार उपक्षेत्रमा तीन दशमलव सात प्रतिशत, अन्य सेवा उपक्षेत्रमा तीन दशमलव सात प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्यसम्बन्धी उपक्षेत्रमा तीन दशमलव तीन प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ ।