काठमाडौं । हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलको नेतृत्व, महाप्रबन्धक (जनरल म्यानेजर)को भूमिकामा हस्पिटालिटी क्षेत्रका अनुभवी तथा दिग्गज तुषार नगरले सम्हाल्ने भएका छन् ।
यो नयाँ भूमिकामा नगरले होटलको दैनिक सञ्चालन, रणनीतिक विस्तार, वित्तीय व्यवस्थापन र सरोकारवालाहरूसँगको समन्वयको नेतृत्व गर्नेछन् । साथै, उनले अतिथि सत्कारमा उच्च गुणस्तर र उत्कृष्ट सेवा प्रवाह गर्ने संस्कृतिको विकासमा मुख्य भूमिका खेल्नेछन् । हस्पिटालिटी क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव सँगालेका नगरसँग सेवाको उत्कृष्टता र टिम व्यवस्थापनमा गहिरो ज्ञान छ । हायात प्लेस बुटवलमा आउनुअघि उनले भारतका प्रतिष्ठित होटल ब्रान्डहरूमा काम गरिसकेका छन् । उनले जे डब्लु म्यारियट चण्डीगढ, द ओबेरोय अमरभिलास आगरा, पार्क हायात चेन्नई, हायात रिजेन्सी लुधियाना, द वेस्टिन पुणे र पछिल्लो समय कोर्टयार्ड बाइ म्यारियट सिलोङमा विभिन्न नेतृत्वदायी तथा एफ एन्ड बी भूमिकामा काम गरेको अनुभव बटुलेका छन् ।
बुटवलको मुटुमा अवस्थित हायात प्लेस बुटवल आधुनिक सुविधा र यस क्षेत्रको प्राकृतिक सौन्दर्यको संगमको रूपमा उदाएको छ । बुद्ध जन्मस्थल लुम्बिनी र ऐतिहासिक तिलौराकोट नजिकै रहेको यो होटल एक सय नौ कोठासहित सञ्चालनमा छ । यहाँ विलासी कोठाहरू, मनोरम दृश्य देखिने रुफटप पुल र अग्र्यानिक स्वाद पाइने डाइनिङ को सुविधा उपलब्ध छ । पदयात्रा र स्थानीय बजार घुम्न चाहनेहरूका लागि पनि यो होटल उपयुक्त गन्तव्य बनेको छ । चाहे सप्ताहन्तको बिदा मनाउन होस् वा पश्चिम नेपालको भ्रमण गर्न, यो होटलले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ ।
नगरले आईएचएम वाराणसीबाट होटल म्यानेजमेन्टमा डिप्लोमा र जगतपुर पीजी कलेजबाट कमर्समा स्नातक गरेका छन् । साथै, उनले यस क्षेत्रसँग सम्बन्धित विभिन्न नेतृत्व विकास र ब्रान्ड प्रमाणीकरण तालिमहरू पनि पूरा गरेका छन् ।