काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक–आईजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा शनिबार आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै कार्कीले खरानीबाट उठेर पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न सडकमा उभिएको बताए । गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय तथा भवनमा आगजनी गरिएको, ट्राफिक प्रहरीका संरचना र उपकरणहरूमा ठूलो क्षति पुगेको उनले बताए । ‘आन्दोलनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा ठूलो क्षति भयो । त्यस कठिन घडीमा पनि प्रहरीका खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदासमेत नागरिकको सुरक्षाका लागि सडकमा उभिइरह्यो । हामी अहिले खरानीबाट उठेर पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न सडकमा छौँ’, उनले भने ।
महानिरीक्षक कार्कीले ट्राफिक सप्ताह, २०८२ लाई नागरिक चेतना अभिवृद्धिको अभियानका रूपमा लिन आग्रह गरे । नेपालका सवारी चालकदेखि पैदल यात्रुसम्म सबैले सभ्य, शिष्ट र जिम्मेवार नागरिकको व्यवहार देखाउँदै ट्राफिक नियमको पूर्ण पालना गर्ने उनको विश्वास छ । कानुनको प्रभावकारी कार्यान्वयनबाट कानुनी शासन स्थापना हुने, कानुनी शासनबाट सुशासन आउने र सुशासनले समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउने उनको भनाइ छ ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले जेन–जी युवाहरूको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा भएको क्षति नागरिकको सहयोगमा हामी अहिले पुनर्निर्माणको चरणमा रहेको बताए । आगजनीका कारण ट्राफिक प्रहरीका संरचना ध्वस्त भएको, उपकरण नष्ट भएको र कार्यालयमा रहेका नागरिकका महत्वपूर्ण कागजात जलेको उनले जानकारी दिए । ‘भविष्यमा यस्ता ध्वंसात्मक गतिविधि नदोहोरिऊन् भन्ने हाम्रो कामना छ’, उनले भने ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक–एआईजी) ईश्वर कार्कीले काठमाडौँ उपत्यकामा बढ्दो सवारी चाप र दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न सबै पक्ष प्रहरी, चालक, यात्रु र सर्वसाधारण सजग र जिम्मेवार हुनुपर्ने बताए । काठमाडौँ महानगरपालिकाकी नगरउपप्रमुख सुनिता डङ्गोलले शिक्षित वर्गलगायत आम नागरिकबाट नै ट्राफिक नियमको उलङ्घन हुने भएकाले उक्त कुरा यही अभियानबाट अन्त गर्नुपर्ने बताइन् । अभियान माघ ३ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत ट्राफिक सचेतना, नियम पालना, सवारी अनुशासन, पैदल यात्री सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।